तपाईँ सुन्दै हुनुहुन्छः

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बाँके । डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । गाउँपालिकाका सबै बालबालिकाले पूर्ण खोप लगाएपछि स्थानीय तह खोप सुनिश्चितता घोषणा भएको हो ।

आज शुक्रबार एक कार्यक्रमबिच गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गाउँपालिकालाई पूर्ण खोप घोषणा गर्दै बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने भन्दै त्यसका लागि समुदाय स्तरमा स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्न निर्देशन दिनुभयो ।

उहाँले स्वास्थ्यको क्षेत्रमा डुडुवाले विशेष मिसनका साथ काम गरिरहेकाले स्वास्थ्य सेवाको गुणस्तरीयता तथा प्रभावकारितालाई विशेष ध्यान दिएको भन्दै कुनै पनि नागरिकले स्वास्थ्य सेवाबाट बाञ्चितीकरणमा पर्न नहुने बताउनुभयो । अध्यक्ष चौधरीले अब छिट्टै ज्येष्ठ नागरिकका लागि विशेष उपचार सेवाको तयारी भएको जानकारी दिनुभयो ।  

गाउँपालिका अन्तर्गत जन्मेदेखि १५ महिनाका एक हजार दुई सय ६ जना बालबालिकाले नियमित रुपमा पूर्ण खोप लगाएपछि शतप्रतिशत पूर्ण खोप सुनिश्चितता भएको स्वास्थ्य शाखा प्रमुख हेमन्त किशोर शर्माले बताउनुभयो । उहाँका अनुसार पूर्ण खोप सुनिश्चितताका लागि गरिएको घरधुरी सर्वेक्षणमा १६ महिनादेखि २३ महिनाका तीन हजार २ सय १५ जनाले सबै खोप लगाएको पाइएको छ ।

जिल्ला खोप समन्वय समितिले डुडुवालाई पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरेको थियो भने पालिकाको ६ वटै स्वास्थ्य चौकीलाई समेत प्रमाणपत्र प्रदान गरेको थियो । वार्षिक रुपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम अन्तरगत यस वर्ष पनि घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख जनकराज गिरी, वडाध्यक्षहरू दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button