तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा उत्कृष्ट तीन केन्द्राध्यक्षलाई नगद सहित पुरस्कृत गरिने

जनकपुरधाम । आगामी चैत्र ७ गतेबाट शुरु हुने एसइई परीक्षालाई मधेश प्रदेशमा मर्यादित बनाउनका लागि मर्यादा विपरितको काम गर्ने केन्द्रका निरीक्षक तथा केन्द्राध्यक्ष माथि कारबाही हुने भएको छ । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मर्यादा विपरीत काम भएको सेन्टरमा खटिएको कक्षा कोठाका निरीक्षक तथा केन्द्रमा नै अमर्यादित काम भएको पाइएको खण्डमा केन्द्राध्यक्ष माथि नै कारबाही गर्ने जानकारी रेडियो नेपाललाई गराउनु भएको हो । यसका लागि अतिरिक्त कर्मचारीको व्यवस्थापन गरिने भएको छ ।  

परीक्षाको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीलाई अझ बढी सक्रिय बनाउने भएको छ । मधेश प्रदेशका जिल्लाहरूमा विद्यालयको शिक्षाको गुणस्तरमा ह्रास आएको बेलामा मुख्यमन्त्रीले परीक्षालाई मर्यादित बनाउनका लागि सबै प्रकारको उपायहरू अबलम्बन गरिने जानकारी दिनुभयो । 

यसका साथै मर्यादित तथा व्यवस्थित रुपमा परीक्षा सञ्चालन गर्ने प्रदेश भरिका केन्द्राध्यक्ष मध्ये प्रथम, द्वितीय तथा तृतीय हुनेलाई मधेश प्रदेश सरकारले नगद सहित पुरस्कृत गर्ने मुख्यमन्त्रीले जानकारी दिनु भयो ।  पुरस्कृत गर्नका लागि जिल्ला परीक्षा समन्वय तथा व्यवस्थापन समितिले सिफारिस गर्ने भएको छ । 

यस वर्षको एसइईमा दण्ड तथा पुरस्कार एक साथ अगाडी बढाउने नीति प्रदेश सरकारले लिएको बताउँदै मुख्यमन्त्री सिंहले यसले विद्यालय तहको पठन पाठनमा सुधार आएर प्रदेशको बिग्रेको शिक्षाको अवस्थामा क्रमशः सुधार आउने विश्वास व्यक्त गर्नु भयो । 

एसइई परीक्षामा नक्कल गर्ने  तथा गराउने काम अत्यधिक मात्रामा बढेका कारणले विद्यालयहरूमा पढ्ने तथा पढाउने वातावरणमा नै नकारात्मक असर परेर प्रदेशको समग्र शैक्षिक अवस्थामा नै नकारात्मक असर परेको छ ।

यस पटक मधेश प्रदेशका ८ जिल्लाबाट ८८ हजार ८ सय ५८ जना विद्यार्थीहरू सहभागी हुन थालेको छ । प्रदेशमा सबै भन्दा बढी धनुषा जिल्लाबाट १३ हजार ६ सय ५४ जना र सबै भन्दा कम सप्तरी जिल्लाबाट ८ हजार ७ सय १५ जना परीक्षार्थीहरू सहभागी हुने भएका छन् । 

एसइई परीक्षा यस पटक मधेश प्रदेशका १ हजार २ सय ३१ विद्यालय सहभागी रहेका छन् भने परीक्षा सञ्चालनका लागि ३ सय १२ परीक्षा केन्द्र निर्धारण गरिइएको छ । सोही सङ्ख्यामा केन्द्राध्यक्ष र ४ सय ५९ सहायक केन्द्राध्यक्ष तोकिएको छ । यसै गरि ४ हजार ३ सय ७० निरीक्षक, ७ सय ५५ जना परीक्षा सहायक १ हजार ६ सय ६६ कार्यालय सहयोगी र ४ हजार ६ सय सुरक्षाकर्मी गरेर १२ हजार २ सय ४२ जना कर्मचारी परिचालन गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button