मार्क कार्नी बन्ने भए क्यानडाको नयाँ प्रधानमन्त्री
काठमाडौं। बैंक अफ क्यानडा र बैंक अफ इङ्ल्याण्डका पूर्वगभर्नर मार्क कार्नीलाई क्यानडाको सत्तारूढ लिबरल पार्टीले नयाँ नेता चयन गरेको छ। यससँगै, उहाँ क्यानडाको आगामी प्रधानमन्त्री बन्ने निश्चित हुनुभएकाे छ। कार्नीले ८६ प्रतिशत सदस्यहरूको मत प्राप्त गर्नुभएकाे छ । उहाँले देशकाे आगामी प्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नु हुनेछ।
कार्नीले यस वर्षको सुरुवातमा पदबाट राजीनामा दिनुभएका जस्टिन ट्रुडोको स्थान लिनुहुनेछ। ५९ वर्षीय कार्नीको राजनीतिक पृष्ठभूमि नहुँदा क्यानडाको प्रधानमन्त्री बन्ने यो पहिलो पटक हो। उहाँले पार्टीलाई पुनर्जीवित गर्न र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार वार्ता गर्न आफूलाई सबैभन्दा उपयुक्त व्यक्ति भएको दाबी गर्नुभएकाे छ।
कार्नीका अनुसार, “जी–७ का दुई केन्द्रीय बैंकहरूको गभर्नरको रूपमा सेवा गर्ने पहिलो व्यक्ति भएको नाताले मेरो अनुभवले प्रमाणित गर्छ कि म ट्रम्पसँग व्यवहार गर्न सबैभन्दा सक्षम छु।”
अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडामा अतिरिक्त कर लगाउने धम्की दिइरहनुभएकाे छ, जसले क्यानडाको निर्यात-निर्भर अर्थतन्त्रलाई असर गर्न सक्ने आशंका व्यक्त गरिएको छ।
मार्क कार्नी को हुन्?
मार्क कार्नीको जन्म क्यानडाको फोर्ट स्मिथ, नर्थवेस्ट टेरिटोरीजमा भएको हो। उहाँले आफ्नो बाल्यकाल एडमन्टनमा बिताउनुभएकाे थियाे। त्यसपछि, उहाँ हार्बर्ड विश्वविद्यालयबाट अर्थशास्त्र अध्ययन गर्दै अमेरिका जानुभएकाे थियाे। पछि उहाँले अक्सफोर्ड विश्वविद्यालयबाट मास्टर डिग्री र १९९५ मा अर्थशास्त्रमा पीएचडी उपाधि हासिल गर्कानुभएकाे थियाे।
कार्नीलाई २००८ मा बैंक अफ क्यानडाको गभर्नर नियुक्त गरिएको थियो र उहाँको नेतृत्व छिट्टै विश्वव्यापी रूपमा चिनिन थाल्यो। २०१० मा टाइम म्यागजिनले उहाँलाई विश्वका २५ सबैभन्दा प्रभावशाली नेताहरूको सूचीमा समावेश गर्यो।
२०१२ मा, युरोमनी म्यागजिनले उनलाई ‘सन् २०१२ को उत्कृष्ट केन्द्रीय बैंक गभर्नर’ घोषणा गर्यो। त्यसपछि २०१३ मा, कार्नी बैंक अफ इङ्ल्याण्डका गभर्नर बने र यस संस्थाको ३०० वर्षको इतिहासमा यस पदमा पुग्ने पहिलो गैरब्रिटिश नागरिक बन्नुभयाे। उहाँ २०२० सम्म सो पदमा रहनुभयाे।
हालका वर्षहरूमा, कार्नी संयुक्त राष्ट्रसंघको जलवायु कार्य तथा वित्तसम्बन्धी विशेष दूत र ब्रुकफिल्ड एसेट म्यानेजमेन्टको ट्रान्जिसन इन्भेस्टिङ प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्याे। तर, उहाँले यी पदहरूबाट राजीनामा दिएर क्यानडाको लिबरल पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने निर्णय गर्नुभएकाे थियाे।
ट्रुडोले आफ्नो बिदाइ भाषणमा के भने?
जस्टिन ट्रुडोले सोमबार क्यानडाका प्रधानमन्त्रीको रूपमा आफ्नो अन्तिम भाषण गर्नुभयाे। लिबरल पार्टीका सदस्यहरूको भीडलाई सम्बोधन गर्दै ट्रुडोले आफ्नो कार्यकालप्रति गर्व व्यक्त गर्नुभयाे र नागरिकहरूलाई देशको भविष्यको चिन्ता गर्न आग्रह गर्नुभयाे।
उहाँले भन्नुभयाे, “मलाई गलत नबुझ्नुहोस्, पछिल्लो १० वर्षमा हामीले गरेका उपलब्धिहरूमा म धेरै गर्व गर्छु। तर आजको रात एक पार्टीको रूपमा, एक देशको रूपमा, हाम्रो भविष्यबारे सोच्ने समय हो।”
उहाँले आर्थिक चिन्ताबारे पनि उल्लेख गर्नुभयाे, जसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूलाई सूक्ष्म रूपमा इंगित गर्नुभएकाे थियाे। उहाँले थप्नुभयाे, “हामी त्यस्तो देश हौं, जसले लड्नुपर्छ, हामी अघि बढेर लड्ने छौं।”
लोकतन्त्र र स्वतन्त्रताको निरन्तर प्रयास आवश्यक हुने बताउँदै उहाँले भन्नुभयाे, “यसका लागि साहस, बलिदान, आशा र कडा मिहिनेत चाहिन्छ। हामीले पछिल्लो १० वर्षमा प्राप्त गरेका उपलब्धिहरूलाई मात्रै सम्झेर बस्नुहुँदैन। यसको सट्टा, आउँदो १० वर्ष र त्यसपछिका दशकहरूमा अझ धेरै हासिल गर्नुपर्ने छ।”
प्रतिक्रिया राख्नुहोस्