तपाईँ सुन्दै हुनुहुन्छः

नेपालकै पहिलो खो खो लिग हुँदै

बर्दिया । नेपालकै पहिलो खो खो लिग प्रतियोगिता बर्दियामा हुने भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा देशकै पहिलो खो खो लिग प्रतियोगिता हुने भएको हो । 

प्रतियोगिताको आयोजना अगामी चैत्र २३ देखि ३० गते सम्म गरिने भएको हो । देशमा पहिलो पटक गर्न लागिएको लिग चरणको खेलमा देशभरिका ६ ओटा टिमका खेलाडी सहभागी हुने भएका छन् । 

प्रतियोगिता नेपाल खो खो सङ्घको आयोजनामा र लुम्बिनी प्रदेश खो खो सङ्घको व्यवस्थापनमा सञ्चालन हुने भएको छ । खो खो खेलको टिममा अन्तर्राष्ट्रिय एक, राष्ट्रिय दुई, प्रदेश तीन र जिल्ला स्तरका ६ जना खेलाडी सहभागी हुने व्यवस्था मिलाइएको छ । खेलाडीहरू तयारी अवस्थामा रहेको र टिम होस्टको पर्खाइमा रहेको नेपाल खो खो संघका वरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीले बताउनुभयो । खो खो खेलमा सबै भन्दा बढी खेलाडी ठाकुरबाबा नगरपालिकामा उत्पादन भएको हुनाले यही पालिकामा प्रतियोगिता गर्न लागिएको उहाँले बताउनुभयो । 

खो खो खेल हेर्नका लागि पुरै खेल अवधि सम्मको लागि टिकट दर एक हजार, एक दिन मात्रको लागि दुई सय रुपियाँ तोकिएको छ । त्यसैगरी विद्यार्थीहरूको लागि पुरै खेल अवधिको लागि पाँच सय र एक दिनको लागि एक सय ५० रुपियाँ तोकिएको छ । 

ठाकुरबाबा नगरपालिका खो खो खेलका लागि उर्वर भूमि मानिन्छ । गत पुसको अन्तिम सातामा भारतको दिल्लीमा भएको विश्वकप खो खो प्रतियोगितामा बर्दिया जिल्लाका मात्र १२ जना खेलाडी सहभागी भएका थिए । विश्वकप खो खो प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । २०७० साल देखि ठाकुरबाबा नगरपालिकामा खो खो खेलको प्रवर्द्धन गर्न सुरु गरिएको  थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button