सूर्य ताराको दोस्रो खेल महोत्सव सुरु, सभामुख घिमिरेद्वारा उद्घाटन
पोखरा । सूर्य तारा (नेकोस) दोस्रो खेल महोत्सव लेखनाथमा शुरु भएको छ । सूर्य तारा क्लब र नेपाल खेलकुद महासङ्घ गण्डकीको संयुक्त आयोजनामा पोखरा–२९ स्थित प्रस्तावित भण्डारढिक रङ्गशालामा शुरु भएको हो ।

दोस्रो खेल महोत्सवको उद्घाटन गर्दै सभामुख देवराज घिमिरेले खेल आफैँमा पर्यटनको एक महत्वपूर्ण औजार भएकाले खेल क्षेत्रबाट पर्यटनको विकास गर्न महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
प्रदेश सरकारको तर्फबाट प्रदेश खेलकुद परिषद्ले बनाएको योजना आकर्षक रहेकाले यसको नियमावली, कार्यविधि प्रदेश सरकारले निर्माण गर्न सकोस् भन्ने शुभकामना दिँदै उहाँले आगामी दिनमा खेललाई नयाँ पिँढीको अभिन्न अङ्गको रुपमा लिनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्री खगराज अधिकारीले खेलको माध्यमबाट सम्बन्ध स्थापित गरी अर्थतन्त्र चलायमान बनाउन सकिने बताउनुभयो ।
लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष एवं खेलकुद महोत्सवका मुख्य प्रायोजक कर्माचार्य वेक्स एण्ड फुड्स प्रालिका विक्रम कर्माचार्यले यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका खेल भए अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा दोस्रो खेल महोत्सवमा विभिन्न ८१ संघ संस्था एवम् महिला/आमा समूहहरूले आफ्नो कला संस्कृति, परम्परा सहितको पहिचान झल्किने झाँकी प्रस्तुत गरेका थिए ।

चैत्र २ गतेसम्म हुने खेल महोत्सवमा फुटबल, ब्याडमिन्टन, एथलेटिक्स, तेक्वान्दो, खुल्ला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता लगायत नृत्य प्रतियोगिता र सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्