लुम्बिनी कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अब वैशाखमा हुने

नेपालगञ्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको आयोजना मिति सरेको छ । फागुन १९ देखि २९ गतेसम्म नेपालगञ्ज रङ्गशालामा हुने तय भएको प्रतियोगिता अब आगामी वैशाख ५ देखि १५ गतेसम्म हुने भएको छ । आयोजक अन्तरालले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्राविधिक कारणले प्रतियोगिताको मिति सार्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्राविधिक कारणले प्रतियोगिताको आयोजना मिति केही पछि सरेको छ । अब नयाँ मितिमा आयोजना हुने प्रतियोगितालाई हामी भव्य बनाउने प्रयास गर्नेछौँ । मैदानको स्तरोन्नति र स्थानीय खेलाडीहरूको लागि प्रशिक्षणको लागि केही समय मिलेको छ । यसले प्रतियोगितालाई अझ स्तरीय र व्यवस्थापनमा पनि राम्रो गर्न सहयोग गर्नेछ ।’
प्रतियोगितामा नेपालका चर्चित क्लबहरू, विभागीय टिम र भारतीय टिमलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल सङ्घको समन्वयमा हुन लागेको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलले महिला खेलको स्तरलाई माथि उकास्ने आयोजकले विश्वास लिएको छ ।
प्रतियोगितामा स्थानीय बाँके जिल्लाको टिमसहित ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगितालाई लक्षित गरेर बाँके जिल्ला फुटबल सङ्घले खेलाडी छनोट र प्रशिक्षण कार्यक्रमलाई अगाडि बढाइरहेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताउनुभयो । बाँकेको महिला फुटबल टिमले धम्बोझीस्थित नेपाल प्रहरीको गुल्ममा प्रशिक्षण सुरु गरेको छ । फुटबल प्रशिक्षक सानु तामाङ र रवीन्द्र श्रेष्ठले स्थानीय खेलाडीलाई प्रशिक्षण गराइरहनुभएको छ ।
यसैगरी नेपालगञ्ज रंगशालाको मैदानमा घाँस उमार्ने कार्य पनि भइरहेको छ । प्रतियोगिता अवधिसम्म मैदान पनि राम्रो बन्ने आयोजकले बताएको छ । पत्रकार सम्मेलनमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्जका कार्यालय प्रमुख महेश चन्द, प्रतियोगिताको प्रचार–प्रसार उपसमिति संयोजक निरज गौतम, सचिवालय प्रमुख रमेश मल्ल, समन्वय तथा परिचालन उप–समिति संयोजक तेजविक्रम शाहले प्रतियोगितालाई ऐतिहासिक बनाउने लक्ष्यसहित काम गरिरहेको बताउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्