तपाईँ सुन्दै हुनुहुन्छः

“अपराध अनुसन्धान न्याय निरूपणको पहिलो खुड्किला” 

जनकपुरधाम। अपराधको सही अनुसन्धान र कुशल अभियोजनले समाजमा शान्ति सुरक्षा तथा सुशासनमा ठूलो मद्दत पुग्ने यस क्षेत्रका विज्ञहरुले औँल्याउनु भएको छ । 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको संयुक्त आयोजना तथा मधेश प्रदेश प्रहरी कार्यालयको समन्वयमा प्रदेश स्तरीय एक दिने “अपराध अनुसन्धान समीक्षा” गोष्ठीको आज जनकपुरधाममा सम्बोधन गर्दै विज्ञहरुले सो कुरा बताउनु भएको हो । 

उहाँहरूले कतिपय विकसित देशहरूमा अपराधको सही अनुसन्धान तथा उत्कृष्ट परीक्षणका कारणले अपराधको मुद्दाहरूका ९९.९ सय प्रतिशतसम्म सफलता मिल्ने गरेको बताउँदै नेपालमा अपराध अनुसन्धानका लागि थप पूर्वाधारको निर्माण राज्यले लगानी बढाउनु पर्ने धारणा राख्नुभयो । 

गोष्ठीको उद्घाटन गर्दै मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले सफल अपराध अनुसन्धान न्याय स्थापनाको पहिलो खुड्किला भएको बताउँदै अपराधको सही अनुसन्धानले न्याय स्थापना तथा सुशासनमा ठूलो मद्दत पुग्ने बताउनु भयो । 

oplus_0

उहाँले मधेश प्रदेश तथा देशकै अपराध अनुसन्धानमा पछिल्लो समयमा नेपाल प्रहरीले केही प्रगति गरेपनि पछिल्लो समयमा डिजिटल तथा सीमा अपराध चुनौतीको रुपमा देखा परेको बताउँदै यसको सही अनुसन्धानका लागि प्रविधि तथा दक्ष जनशक्तिको आवश्यकता भएको बताउनु भयो । 

उहाँले मधेश प्रदेश सरकारले मधेश प्रदेश प्रहरीको कार्यक्षमता अभिवृद्धिका लागि भौतिक पूर्वाधारको निर्माण तथा अन्य प्रकारको सहयोग गर्दै आएको बताउनु भयो । 

उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश टेक बहादुर कुँवरले नेपाल प्रहरीको अपराध अनुसन्धानमा वैज्ञानिक पद्धति तथा विधि प्रयोगलाई प्रभावकारी बनाउन राज्यले अनुसन्धानका लागि प्रविधिको क्षेत्रमा थप लगानी बढाउनु पर्ने धारणा राख्नु भयो । 

नेपाल प्रहरीका अपराध अनुसन्धान विभागका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक सुशिल सिंह राठौरले पछिल्लो समयमा आर्थिक तथा वित्तीय अपराध चुनौतीको रुपमा बनेको बताउँदै अपराधको अनुसन्धान कानूनको शासन र मानव अधिकार उच्च प्राथमिकतामा राखेर गर्नु पर्नेमा जोड दिनु भयो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले न्यायपूर्ण समाजको निर्माणका लागि अपराध अनुसन्धान महत्वपूर्ण पाटो भएको बताउँदै अपराधको सही पहिचान तथा सोही अनुसारको अभियोजन र शीघ्र न्याय निरुपण हुनु पर्नेमा जोड दिनु भयो । 

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले अपराधको सही अनुसन्धान तथा अभियोजनका लागि नेपाल प्रहरीसँग साधन श्रोत र पूर्वाधारको अपर्याप्तता भएको बताउनु भयो । 

कार्यक्रममा अपराध अनुसन्धान विभागका वरिष्ठ प्रहरी उपरीक्षक मुकुन्दराज मरासिनी तथा धनुषाका जिल्ला न्यायाधिवक्ता पद्म प्रसाद वस्तिले अपराधको अनुसन्धानले न्याययुक्त शासनमा मद्दत पुग्ने बताउनु भयो । कार्यक्रममा मधेश प्रदेशका ८ जिल्लाका प्रहरी प्रमुखहरू तथा अपराध अनुसन्धान गर्ने प्रहरी अधिकारीहरूको सहभागिता रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button