तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीका रुपन्देही जिल्लाका पूर्व अध्यक्ष नेकपा एमालेमा प्रवेश

रुपन्देही । नेकपा एकीकृत समाजबादीका पूर्व जिल्ला अध्यक्ष नेकपा एमालेमा फर्किनुभएको छ । 

उहाँलाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले स्वागत गर्नुभएको हो । पार्टीका नेताहरूलाई भेट गरेर कम्युनिस्ट आन्दोलनलाई सघाउन तयार भई मुल घर नेकपा एमालेमा फर्किएको गुरुङले बताउनुभएको छ । 

नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको अध्यक्षसहित केन्द्रीय सदस्य बने पनि पछि राजीनामा दिएर स्वतन्त्र बसेका रुपन्देहीका युवा नेता राजु गुरुङले कम्युनिष्ट एकताका लागि नेकपा (एमाले) लाई सघाउन तयार भएको बताउनुभएको छ । 

एमालेबाट माधव नेपाल समूहमा लागेर नेकपा (एस) को केन्द्रीय सदस्यसमेत बनेका गुरुङ एक वर्ष यता सो पार्टीबाट अलग बस्नुभएको थियो ।

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनमा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलविरुद्ध उहाँ साझा उम्मेदवार बने पनि अन्तिम समयमा निर्वाचन आयोगले उहाँको उम्मेदवारी खारेज गरेको थियो ।

‘म आज एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीलाई भेटेर फर्केको छु, सबै कम्युनिष्ट एकताको पक्षमा लागेको मान्छे हो, सबैलाई मिलाउन तयार भएको हकमा म सहयोग गर्न तयार छु भनेर आएको छु उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेललाई भेटेर यही कुरा जनाएको छु’, उहाँले भन्नुभयो, ‘अब नेपालको कम्युनिष्ट आन्दोलन विभाजित होइन सङ्गठित गर्नुपर्छ मैले तपाईँको निर्देशनमा काम गर्छु, जिम्मेवारी दिनुस् भनेको छु । अब यसका लागि दिएको जिम्मेवारी अनुसार काम गर्नेछु । ’

विद्यार्थीकालदेखि अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका गुरुङ बुटवल बहुमुखी क्याम्पसको स्ववियु सभापति, राष्ट्रिय युवा संघ नेपालको रुपन्देही अध्यक्ष, केन्द्रीय उपाध्यक्षसमेत हुनुभएको थियो । एमाले नेता निरज आचार्यले अब गुरुङसँगको सहकार्य थप सहज भएको जनाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button