वीरगंजमा ‘अर्थोकोन २०२५’ अन्तर्राष्ट्रिय सम्मेलन सुरु

वीरगंज । नेपाल अर्थोपेडिक सङ्घको आयोजनामा वीरगञ्जमा ‘अर्थोकोन २०२५’ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ ।
अर्थोपेडिक चिकित्सा क्षेत्रमा भएका नवीनतम खोज, अनुसन्धान तथा प्रविधिको आदान–प्रदान गर्ने उद्देश्यसहित आयोजित उक्त सम्मेलन आज शुरु भई फागुन १७ गते सम्पन्न हुने कार्यक्रम रहेको छ ।
सम्मेलनमा नेपालसहित विभिन्न १५ देशका ५ सय जना वरिष्ठ अर्थोपेडिक चिकित्सकहरूको सहभागिता रहेको छ । सूर्य अस्पताल वीरगञ्जका डाक्टर सरोज सिंह का अनुसार सम्मेलनमा अर्थोपेडिक उपचारमा भएका नयाँ उपलब्धिहरू, नवजात शिशुदेखि वृद्धसम्मका बिरामीहरूको उपचार विधि, औषधि प्रयोग तथा यसको प्रभावकारिता लगायतका विषयमा गहन छलफल हुनेछ ।
नेपालमा अर्थोपेडिक सेवामा हुँदै आएका नयाँ प्रयोग, आधुनिक प्रविधि तथा आगामी दिनमा थप गर्न सकिने सुधारका विषयमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने डाक्टर सिंहले बताउनुभयो ।
जारी अन्तर्राष्ट्रिय सम्मेलनले नेपालमा हाडजोर्नी तथा नसा सम्बन्धी उपचार प्रविधिको विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्