महाशिवरात्रि पर्व: बाँकेका शिवमन्दिरहरूमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

बाँके। महाशिवरात्रिका अवसरमा बाँकेका बागेश्वरी मन्दिर, सन्तानेश्वर मन्दिर एवं कोहलपुरका प्रसिद्ध तीर्थस्थल तथा शिवालयहरूमा आज बिहानैदेखि दर्शनार्थीहरूको भिड लागेको छ।

सनातन धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा आराधना गर्ने आजको दिनलाई विशेष महत्त्वका साथ मनाइँदैछ।

पञ्चाङ्ग अनुसार बुधबार बिहान ९ बजेर ४७ मिनेटसम्म त्रयोदशी तिथि रहेको र त्यसपछि चतुर्दशी लाग्ने उल्लेख छ। हिन्दू धर्मावलम्बीहरूले बिहानै नदी वा पवित्र स्थलमा स्नान गरी भगवान् शिवको पूजा गर्ने परम्परा अनुरूप बागेश्वरी मन्दिरमा श्रद्धालुहरू लामबद्ध भएर पूजा गरिरहेका छन्।

यसैगरी, नरैनापुर भएर पुगिने प्रसिद्ध सन्तानेश्वर मन्दिरमा पनि भक्तजनहरूको घुइँचो लागेको छ। नरैनापुरबाट पत्रकार विनय दीक्षितका अनुसार आजै राति धुनी जगाएर शिव महिमा गान तथा आराधना गरिने परम्परा रहेको छ।

कोहलपुरका सिद्देस्वरी मन्दिर, शिव मन्दिर तथा टेलिकम रोडस्थित शिवालयमा पनि बिहानैदेखि भक्तजनहरूको चहलपहल बढेको छ। शिवालयहरूमा पूजा अर्चनाको विशेष व्यवस्था मिलाइएको छ भने भक्तजनहरूलाई टिका प्रसाद वितरण गरिएको छ।

भगवान् शिवलाई पञ्चामृत स्नान गराई चन्दन, सेता फूल, र बेलपत्र अर्पण गर्ने परम्परा छ।


प्रतिक्रिया राख्नुहोस्