भद्रपुर झापा गोल्डकप : आयोजक भद्रपुर ब्लेजर्स फाइनलमा प्रवेश
झापा । आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली बङ्गलादेशको काउवार्न बाजार प्रगति संद्धलाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले फाइनलमा स्थान पक्का गरेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा १–१ को बराबरीमा टुङ्गिएपछि भद्रपुर ब्लेजर्सले टाई ब्रेकरमा नतिजा आफ्नो पक्षमा पार्यो । भद्रपुरले सत्यम शर्माको गोलमा २९ औँ मिनेटमा अग्रता लिए पनि बङ्गलादेशका तर्फबाट साकिलले ७२ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।
खेलको प्लेयर अफ द म्याच विजयी टिमका जर्सी नं २३ का खेलाडी टेकेन्द्र थापा भए । उनले नगद २१ हजारसहित ट्रफि पाए ।
भोलि अन्तिम सेमिफाइनल खेल झापा ११ र पाहुना टोली भुटानको डागा युनाइटेड एफसीबीच हुने भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्