तपाईँ सुन्दै हुनुहुन्छः

आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नुभएको आमसञ्चार परिषद् विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको छ

बैठकमा विधेयक माथिको सामान्य छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै सञ्चारमन्त्री गुरुङले आमसञ्चार परिषद् विधेयक सञ्चार क्षेत्रको गरिमा, विश्वसनीयता जोगाई प्रेस काउन्सिललाई अझ बढी प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेको बताउनुभयो ।

संचारमन्त्री गुरुङले आमसञ्चारका माध्यमलाई समयसापेक्ष स्वच्छ, स्वतन्त्र, मर्यादित र उत्तरदायी बनाइ पत्रकारिताको विकास र स्वनियमलाई प्रवद्र्धन गर्न विधेयक ल्याइएको बताउनुभयो ।

यस्तै आजको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ प्रस्तुत भएको छ ।

सभाको आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ प्रस्तुत गर्नुभयो । 

प्रतिनिधि सभाको अर्को बैठक फागुन २१ गते बुधवार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button