तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रियस्तरका टुरिस्ट गाइड उत्पादनका लागि पोखरामा तालिम

पोखरा । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा तथा गण्डकी अल्पाइन क्लब र काठमाण्डौं इन्भाइरोलमेण्टल एजुकेसन प्रोजेक्टको प्राविधिक सहयोगमा पोखरामा छ दिने टुरिस्ट गाइड प्रशिक्षण सुरु भएको छ ।

प्रशिक्षणमा ट्रेकिङ गाइडहरूको लागि प्राथमिक उपचार, नक्सा अध्ययन, पैदल यात्रा व्यवस्थापन, माउन्टेन गाइडिङ, टोपोग्राफिक म्यापिङ र हिमाल आरोहणका क्रममा आवश्यक कौशल सम्बन्धी विषय समेटिएको छ । तालिममा ७ महिला सहित ३३ जना लाइसेन्स प्राप्त ट्रेकिङ गाइड सहभागी हुनुहुन्छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पदयात्रा क्षेत्रमा आउने पर्यटकलाई थप प्रभावकारी सेवा पुर्‍याउन उक्त तालिम आयोजना गरिएको बताउनुभयो । “बोर्डको बजेट यसपालि समयमै आएको हुँदा विभिन्न कार्यक्रमहरू सुरुवात गरेका छौँ । दिगो पर्यटन प्रवर्द्धनका लागि यस्ता तालिम निरन्तर सञ्चालन गरिनेछ,” उहाँले बताउनु भयो ।

संस्थापक अध्यक्ष शेषकान्त शर्मा पौडेलले पोखरामा करिब ३ हजार ५ सय गाइड भए पनि अन्तर्राष्ट्रिय स्तरका दक्ष गाइडको अभाव रहेको उल्लेख गर्दै दिगो पेसागत सुरक्षाका लागि दैनिक भत्ता दोब्बरले वृद्धि गर्नुपर्ने माग गर्नु भयो । हाल पोखरा क्षेत्रका गाइडहरूले २ हजार प्राप्त गरे पनि उहाँहरूलाई दिगो रूपमा यही पेसामा राख्न दैनिक भत्ता ४ हजार पुर्‍याउन उहाँले माग गर्नु भयो ।

सङ्घका सचिव मनशान्त घिमिरेका अनुसार ४ वर्ष भन्दा बढी अनुभव भएका गाइडहरू मात्रै छनोट भएका छन् र दक्ष विज्ञबाट तालिम दिइँदै छ । हाल पोखराका गाइडहरूले प्रतिदिन २ हजारदेखि २५ सयसम्म मात्र पाउने गरेको र दिगो रूपमा टिक्न ४ हजार भत्ता आवश्यक रहेको गाइड विशाल बरालले बताउनुभयो । सङ्घ गण्डकीका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button