तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा डेंगी र स्क्रबटाइफसको सङ्क्रमण तीव्र रूपमा देखिँदै

नेपालगन्ज । बाँकेमा डेंगी र  स्क्रबटाइफसको सङ्क्रमण तीव्र रूपमा देखिन थालेको छ । पछिल्लो तीन महिनामा २९ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ भने ८९ जनामा  स्क्रबटाइफसको शङ्कास्पद सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

भेरी अस्पताल नेपालगन्ज, सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस, कान्ति आरोग्य, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगायतका अस्पतालहरूमा डेंगी तथा स्क्रवटाइफसका बिरामीहरू आउने क्रम बढेको छ ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेका अनुसार बाँके, बर्दिया, दाङ, कैलाली लगायतका जिल्लाहरूबाट डेंगी र  स्क्रबटाइफसका बिरामीहरू अस्पताल आइरहेका छन् । डेंगी पहिचानका लागि अचानक ज्वरो आउने, टाउको दुख्ने तथा आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने लगायतका मुख्य लक्षणहरू रहेको डा. पाण्डे बताउनुहुन्छ । यस्ता बिरामीका मांसपेशी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ ।

सामान्यतया डेंगी भाइरसको सङ्क्रमण भएका करिब ८० प्रतिशत मानिसमा कुनै लक्षण देखिँदैन वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य लक्षण मात्र देखिने चिकित्सकहरू बताउँछन् । सङ्क्रमितमध्ये ५ प्रतिशत मानिसमा गम्भीर प्रकारको डेंगी लाग्ने गर्छ भने ती मध्ये निकै कमको मात्र मृत्यु हुने गर्छ । यो रोग छिप्पिन ३ देखि १४ दिनसम्म लाग्ने भए पनि धेरैजसो बिरामीमा यो रोगले ४ देखि ७ दिनसम्ममा पूर्णता पाउने चिकित्सकहरू बताउँछन् । प्रायः बालबालिकामा डेंगी सङ्क्रमण हुँदा सामान्य रुघा तथा सङ्क्रामक पखाला भएको जस्तै लक्षण देखिने गर्छन् । 

पछिल्लो तीन महिनामा ७२९ जनाको  स्क्रबटाइफसको नमुना परीक्षण गरिएकोमा ८९ जनाको शङ्कास्पद लक्षण चिन्ह देखिएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो । गत वर्ष बाँकेमा ९ हजार ९३८ नमुना परीक्षण गर्दा ४१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । नेपालगन्ज र कोहलपुरका ठुला अस्पतालहरूमा अन्य जिल्लाबाट बिरामीहरू आउने भएकाले अस्पतालका बेडहरूमा डेंगी र स्क्रवटाइफसका बिरामीहरू धेरै छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button