तपाईँ सुन्दै हुनुहुन्छः

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालयमा स्वास्थ्य शिविर

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाभित्रका विद्यालयमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । मौसममा आएको परिवर्तनका कारण विद्यालयमा रुघाखोकी र ज्वरोका बिरामीहरू बढ्दै गएका हुन् ।

सदरमुकाम सल्लेरीको माउन्ट एभरेस्ट इङ्लिस सेकेण्डरी स्कुलका विद्यार्थीमा भाइरल ज्वरो फैलिएपछि केही दिन अगाडी विद्यालय बन्द गरी सोलुदुधकुण्ड नगरपालिका, विद्यालय, जिल्ला अस्पताल फाप्लु र स्वास्थ्य कार्यालय सोलुखुम्बुको संयुक्त बैठकले विद्यालयमा नै स्वास्थ्य शिविरको आयोजना गरी विद्यार्थीहरूको स्वास्थ्य उपचार गर्ने निर्णय गरेको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले बताउनुभयो । नगर क्षेत्रभित्रका अन्य विद्यालयहरूमा समेत रुघाखोकी र ज्वरोका बिरामीहरू बढ्दै गएकाले आवश्यक सतर्कता अपनाउन प्रमुख शेर्पाले आग्रह गर्नुभयो ।

माउन्ट एभरेस्ट इङ्लिस सेकेण्डरी स्कुलमा सोमबार भएको स्वास्थ्य शिविरमा १७२ जना विद्यार्थी तथा अन्यको चेक जाँच गर्दा ५ जनालाई अस्पताल रेफर गरिएको सोलुदुधकुण्ड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास तामाङले जानकारी दिनुभयो ।

विशेष गरी संक्रमित व्यक्तिको शरीरमा भएको तरल पदार्थबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने, रोगीले खोक्दा, हाँच्छ्युँ गर्दा, हाई काढ्दा उसको शरीरमा भएका ब्याक्टेरिया सजिलै अर्को व्यक्तिमा सर्ने र रोगीको नजिक बस्दा स्वस्थ मानिसको नाक, मुखबाट यस्ता भाइरस सर्ने गरेकाले आवश्यक सावधानी अपनाउनु पर्नु जिल्ला अस्पताल फाप्लुका डा.श्रेया पङ्गेनीले बताउनुभयो ।

एक्कासी ज्वरो बढ्नु र रोकिनु, चिसो महशुस हुनु, हल्का खोकी लाग्नु, शरीर दुख्नु, हात खुट्टा सिल्का हान्नु र जोर्नी दुख्नु, वाकवाकी लाग्नु, कमजोर महशुस हुनु, अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु तथा आँखा रातो हुनु भाइरल ज्वराका लक्षण भएको डा. पङ्गेनीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button