इयूका उच्च कूटनीतिज्ञ युक्रेनबारे वार्ताका लागि अमेरिका जाँदै

ब्रसेल्स । युरोपेली सङ्घ (इयू) का विदेश नीति प्रमुख काजा कल्लासले आफ्ना समकक्षी मार्को रुबियोसँग वार्ताका लागि मङ्गलबार अमेरिका जाने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोसँग तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि वार्ता सुरु गरेर किएभ र यसका समर्थकहरूलाई किनारा लगाएपछि युरोप अमेरिकालाई आफ्नो आवाज सुनाउन आतुर छ ।
“तपाईँ (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनसँग जे चाहनुहुन्छ त्यही छलफल गर्न सक्नुहुन्छ, तर यदि यो युरोप वा युक्रेनको कुरा आउँछ भने युक्रेन र युरोपले पनि यो सम्झौतामा सहमति जनाउनुपर्छ,” सोमबार इयूका विदेश मन्त्रीहरूको बैठकमा पत्रकारहरूसँग अमेरिकी राष्ट्रपतिलाई सङ्केत गर्दै कल्लासले भन्नुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई कमजोर बनाउन चाहेको आशङ्कालाई बढावा दिनुभएको छ । उहाँले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध व्यापक दवाव सिर्जना गर्नुभएको छ । यसले रूसी बयानबाजीलाई प्रतिबिम्बित गर्दछ, जसमा उनलाई ‘तानाशाह’ पनि भनिएको छ।
“संयुक्त राज्य अमेरिकाबाट आएका सन्देशहरू हेर्ने हो भने, यो स्पष्ट छ कि त्यहाँ रूसी आवाजलाई धेरै बलियो रूपमा प्रतिनिधित्व गरिएको छ,” कल्लासले भन्नुभयो ।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले सोमबार ह्वाइट हाउसमा अमेरिकी नेतालाई भेट्ने कार्यक्रम तय भएपछि ट्रम्प प्रशासनमा युरोपेली समुदायको बढ्दो पहुँचबिच कल्लासको वासिङ्टन भ्रमण हुन लागेको हो ।
इयूका शीर्ष कूटनीतिज्ञले ब्रसेल्सका विदेशमन्त्रीहरूले किएभलाई प्रमुख हतियारको आपूर्ति बढाउने प्रस्तावमा छलफल गर्ने तर आपूर्तिका लागि समग्र युरो मूल्यमा सम्झौता हुने सम्भावना नरहेको बताउनुभएको छ ।
समूहले मस्कोमाथि औपचारिक रूपमा १६ औँ चरणको प्रतिबन्ध लगाउने छ जसमा रूसबाट आल्मुनियम आयातमा प्रतिबन्ध पनि समावेश छ।रासस/एएफपी
प्रतिक्रिया राख्नुहोस्