तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले भ्रष्टाचार न्युनिकरण, ग्रे लिस्टबाट देशलाई हटाउने, विकास निर्माण, सडक पूर्वाधारको विकास लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा सांसद ध्रुवबहादुर प्रधानले देशभरका विभिन्न भन्सार कार्यालयमा रहेका लिलामीको चिनी लगायतका खाद्यान्न र  ट्रक, मोटर, साइकल भ्यान आदि साधनहरू खिया लागेर बिग्रन लागेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै त्यसको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रन्जु कुमारी झाले पाथीभरा केबलकारको विषयमा विकासको नाममा विनाश हुन नहुने र सरकारले विकास चाहेको हो भने सरोकारवाला पक्षसँग सहमतिका आधारमा अगाडी बढ्नु पर्ने बताउनुभयो ।

उहाँले ग्रे लिस्टबाट देशलाई हटाउन आवश्यक कार्यक्रमहरू अगाडी ल्याउन सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । 

सांसद अमरेश कुमार सिंहले देश ग्रे लिस्टमा पर्नुका कारण र विभिन्न दातृ संस्था र निकायबाट आएको रकमको विषयमा प्रश्न उठेकाले प्राप्त रकम के–के विषयमा के कति खर्च भयो भन्ने बारेमा सदनमा जानकारी गराउन सरकारसँग माग गर्नुभयो । 

सांसद रोशन कार्कीले अछाममा १२ वर्षीय बालिक नाता पर्ने व्यक्तिबाट भएको बलात्कार पछि गर्भवती भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई न्याय दिने विषयमा ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरुले देशका विभिन्न भागमा सडक पूर्वाधार निर्माण कार्य प्रभावकारी बनाउनु पर्ने, रणनीति सडक निर्माणको काम प्रभावकारी बनाइनु पर्ने, पूर्वाधार विकासमा जोड दिनु पर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

सांसदहरुले पछिल्लो समय हावाहुरी, आगलागी र डढेलोका घटना बढेको भन्दै विपद् न्युनिकरणका लागि भइरहेका पहलबारे सदनमा जानकारी गराउन सरकारसँग माग समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button