तपाईँ सुन्दै हुनुहुन्छः

विपन्न समुदायका ७६ घरधुरीलाई सुधारिएको चुलो वितरण 

चितवन । सौराहास्थित सपना भिलेज सोसियल इम्प्याक्टले कालिका नगरपालिका वडा नं–२ भरिका ७६ घरधुरीलाई सुधारिएको चुलो वितरण गरेको छ । 

कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी, नगर उपप्रमुख विमला तामाङ, वडा अध्यक्ष लक्ष्मण पौडेल, इम्प्याक्टका अध्यक्ष ध्रुव गिरी, वडा सदस्यहरुले संयुक्तरुपमा विपन्न समुदायलाई चुलो हस्तान्तरण गर्नुभएको थियो ।

इम्प्याक्टका अध्यक्ष गिरीले सामुदायिक वनबाट दाउरा पाउन गाह्रो हुने र दाउराबाट पकाउँदा धुवाँले असर गर्ने भएकाले थोरै रकम लिएर वडावासीहरूलाई सुधारिएको चुलो वितरण गरेको जानकारी दिनुभयो । रत्ननगर–८, चित्रसारीमा चुलो निर्माण गर्ने उद्योग सञ्चालन गरेको उहाँको भनाइ छ । 

२५ सय पर्ने यो चुलो वडावासीलाई न्यूनतम शुल्क लिएर वितरण गरेको उहाँले बताउनुभयो  । यस चुलोबाट ७५ देखि ८० प्रतिशतसम्म धुवाँ कम निस्कने भएकाले मानव स्वास्थ्यलाई असर नगर्ने उहाँले जानकारी दिनुभयो  ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रेग्मीले सपना भिलेजले कालिका नगरपालिकासँग विभिन्न सहकार्यहरू गर्दै आएकोमा आगामी दिनहरूमा पनि यस्तै सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो  । वडावासीहरूलाई प्राप्त गरेको सुधारिएको चुलोको सही सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

वडा अध्यक्ष लक्ष्मण पौडेलले सुधारिएको चुलोले मानवको स्वास्थ्यदेखि वातावरण शुद्धता राख्नसम्म मद्दत गर्ने भएकाले वडावासीलाई चुलो वितरण गरिएको बताउनुभयो । सुधारिएको चुलोको प्रयोगले दाउरा कम प्रयोग हुने भएकाले केही मात्रामा वनजङ्गल जोगिने बताउनुभयो । यसअघि, सपना भिलेजले इच्छाकामना र रत्ननगरका एक हजार ५० घरधुरीलाई चुलो वितरण गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button