तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान जिल्ला अस्पतालका स्वास्थ्यकर्मी चार महिना देखि तलब विहीन

सल्यान । सल्यान जिल्ला अस्पतालमा कार्यरत १७ स्वास्थ्यकर्मीले विगत ४ महिनादेखि तलब पाउनबाट बञ्चित भएका छन् । कर्णाली प्रदेश सरकारले आवश्यक बजेट नपठाउँदा जिल्ला अस्पतालमा कार्यरत १७ जना कर्मचारीले ४ महिना देखि तलब पाउन नसकेका हुन । 

कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको ढिलाइले तलव नपाउँदा उनीहरूको दैनिक जीवन प्रभावित बनेको छ । रातदिन खटिएर डिउटी गरिरहेको र तलब नआउँदा घरबाट खर्च लिएर काम गर्न बाध्य भएको अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट अन्जना रानाले गुनासो गर्नुभयो । उहाँले आफू अस्पतालमा  विगत ९ बर्ष देखि कार्यरत रहेको र अहिले आएर सामाजिक बिकास मन्त्रालयले बजेट नपठाउँदा ४ महिना देखि तलब नपाएको बताउनु भयो । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले यस विषयमा पटक–पटक प्रदेश सरकारसँग पत्राचार गरेको तर बजेट नपठाएको बताउनु भयो । अस्पतालमा अहिले पनि जनशक्ति नहुँदा बेला बेला सेवा रोकिने समस्या भइरहेको अवस्थामा कर्मचारीले तलब नपाउनु दुखद भएको बताउनु भयो । मन्त्रालयले बजेट नपठाउँदा २०७५ साल देखि विभिन्न शीर्षकमा कार्यरत करार सेवाका कर्मचारीले काम छोड्नुपर्ने अवस्था आएको उहाँले बताउनु भयो । अहिले सम्म करारका कर्मचारीका भरमा सेवा प्रवाह विस्तार गरेको र  कर्मचारी हटाउनु पर्दा सेवा घटाउनुपर्ने अवस्था आउने बताउनु भयो । उहाँले भन्नु भयो, ‘तलब नपाएका स्वास्थ्यकर्मी समस्यामा छन् । रातदिन काम गरिरहेका छन्, तलव खुवाउन दबाब छ, तर मन्त्रालयले बजेट नपठाउँदा महिनौँसम्म तलब नपाउँदा उनीहरू आर्थिक समस्यामा परेका छन् ।’ आर्थिक संकट झेलिरहेका करारका कर्मचारीले तत्काल तलब पाउने कि नपाउने भन्ने अन्योल कायमै छ । पटक पटक सम्बन्धित निकायमा कुरा राख्दा पनि सुनुवाइ नभएको डा. बुढाले बताउनु भयो ।

कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री घनश्याम भण्डारीले संघ बाट आउने बजेट कटौती भएकाले प्रदेश सरकारले बजेट पठाउन समस्या भएको बताउनु भयो । उहाँले कर्णालीका अन्य जिल्ला अस्पतालमा पनि यो समस्या आएकाले अर्थ मन्त्रालयसँग बजेटको माग भइरहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘बजेट थप भएमा करारका कर्मचारी निरन्तरता दिन सकिन्छ  तर बजेट थप नभएमा हटाउनुको विकल्प छैन ।’ सामाजिक बिकास मन्त्रालयमा बजेट नभएको र अर्थ मन्त्रालयले बजेट व्यवस्था गरेमा तत्काल जिल्लामा पठाउने मन्त्री भण्डारीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button