कोहलपुरमा ७औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता आयोजना हुँदै, १८ विद्यालय सहभागी
बाँके। कोहलपुर नगरपालिकामा ७औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। यो प्रतियोगिता फागुन ७ गतेदेखि १३ गतेसम्म कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ। कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुन लागेको यस प्रतियोगिताको उद्देश्य विद्यालय स्तरबाट क्रिकेट छात्रा उत्पादन गर्नु रहेको छ।
उपप्रमुख संगीता सुवेदीले यस प्रतियोगितालाई निरन्तरता दिइएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने जानकारी दिनुभयो। उनले प्रतियोगिताका लागि करिब ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको तथा उत्कृष्ट तथा उपविजेतालाई पुरस्कार राशि बृद्धि गरेको पनि बताउनुभयो।
कोहलपुर नगरपालिकाले खेलकुद क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ। नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमाला क्षेत्रीले यस प्रतियोगितामा १९ वर्ष मुनिका खेलाडीहरू सहभागी हुने बताउनुभयो। उनले कोहलपुरबाटै अन्तर्राष्ट्रिय स्तरमा क्रिकेट खेल्न पुगेकी मनिसा रानाको उदाहरण दिँदै भोलिका दिनहरूमा कोहलपुरबाट नै धेरै खेलाडी उत्पादन हुने आशा व्यक्त गर्नुभयो।
यस प्रतियोगितामा १८ वटा विद्यालयका छात्रा टोलीहरू सहभागी हुने जानकारी समितिका संयोजक क्षेत्रीले दिनुभयो। कोहलपुरको खेलकुदको उर्वरभूमि रहेकोले यस क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्