‘कर्णाली गरिब छ’ भन्ने भाष्य चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली गरिब छ भन्ने भाष्य चिर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि शुरु भएको ‘कर्णाली उत्सव’ को छैटौँ संस्करणलाई सम्बोधन गर्दै उहाँले कर्णाली समस्यै समस्याको खाल्डो मात्र नभई सम्भावनाको सरोवर भएको जनाउनुभयो ।
कर्णाली भन्ने बित्तिकै दुर्गम, अभाव र विकटको पहिचान बनाउने प्रचलित मान्यतालाई चिर्ने कार्य अघि बढेको बताउँदै आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर–दक्षिण व्यापारको ढोका खोल्दै मानसरोवर एवम् मध्य एसिया पुग्ने सिल्क रोडलाई कर्णालीले प्रतिनिधित्व गर्ने कार्य अघि बढेको उहाँले जानकारी दिनुभयो ।
मुख्यमन्त्री कँडेलले पछिल्लो पटक संघीय सरकारले कर्णालीका केही महत्वपूर्ण सडकको स्तरोन्नतिको लागि अहिलेसम्मकै धेरै बजेट विनियोजन गरेको समेत जानकारी दिनुभयो । उहाँका अनुसार कर्णालीको भविष्यसँग जोडिएका कर्णाली करिडोर, भेरी करिडोर, गमगढी नाक्चेनाङ्गला सडकजस्ता रणनीतिक महत्वका सडकहरूको स्तरोन्नति र सुधारमा उल्लेख्य बजेट बिनियोजन भई काम अगाडि बढ्ने प्रक्रियामा रहेका छन् ।
उहाँले कर्णालीमा अनियमित विद्युतलाई नियमित गर्न १३२ केभी विद्युत् प्रसारण लाइन र सुर्खेत विमानस्थललाई स्तरोन्नति गर्ने काममा केही नीतिगत निर्णय र सुधारका कामहरू भइरहेको समेत बताउनुभयो ।
वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले तीन वटै तहका सरकारले रोजगारी र उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई जोड दिनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्