तपाईँ सुन्दै हुनुहुन्छः

लोक संस्कृतिको समृद्धिकालागि हिमवत्खण्ड कला- साहित्य-संंस्कृति सम्मिलन हुने

काठमाडौँ । हिमवत्खण्डको कला संस्कृति र साहित्यको विमर्श गर्ने गरी काठमाडौँमा हिमवत्खण्ड कला, साहित्य, संंस्कृति सम्मिलन आयोजना गर्न लागिएको छ । चैत एक गतेदेखि तीन गतेसम्म आयोजना गरिने सम्मिलनमा नेपाललगायत विभिन्न हिमवत्खण्डमा पर्ने मुलुकका नेपाली भाषीहरूको सहभागिता रहने आयोजक संस्था मदनभण्डारी कला साहित्य प्रतिष्ठानले जनाएको छ । 

हिमवत्खण्ड भनेको हिमालय पर्वतद्वारा समाविष्ट भूगोलको एउटा खण्ड पनि हो । ऋषिहरूको तपो भूमि हो । हिमालय पर्वतको भूखण्डमा पर्ने मुलुकका कलाकार, लेखक र संस्कृतिकर्मीहरू सहभागी हुने सम्मिलनमा हिमवत्खण्ड क्षेत्रका विविध भाषा, संस्कृति, सभ्यता, तथा ज्ञान परम्परालाई आत्मसात् गर्दै विभिन्न जातजाति र समुदायबीच सांस्कृतिक आदान–प्रदान गरिने आयोजकले जनाएको छ । 

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानका अध्यक्ष डाक्टर विजय सुब्बा तीन दिनसम्म आयोजना गरिने सम्मिलनमा हिमवत्खण्डमा उत्पन्न सभ्यता तथा सांस्कृतिक वैभवमाथि प्राज्ञिक विमर्श गरिनुका साथै तिनको अध्ययन, अनुसन्धान, संरक्षण र प्रवद्र्धनमा जोड दिइने बताउनुहुन्छ । 

बहुभाषिक एवम् बहुसांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउँदै सामाजिक एकता र सद्भावलाई सुदृढ बनाउने उद्देश्यले ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन आयोजना गर्न लागिएको उहाँ बताउनुहुन्छ –‘हामी लोकसंस्कृतिमा धनी छौ तर छरिएर रहेका छौँ । हिमवत् क्षेत्रभित्र पर्ने नेपाली भाषीहरूलाई यही लोकसंस्कृतिले मात्रै जोड्न सक्दछ ।’ 

सम्मेलनमा नेपालका सातै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बङ्गाल, असम, मणिपुर, मेघालय, उत्तराखण्ड आदि), चीन, बङ्गलादेश, म्यानमार, भूटान तथा थाइल्यान्डबाट नेपाली लोकसंस्कृतिसम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिनेछन् । ‘हिमवत्खण्डको सांस्कृतिक वैशिष्ट्य’ तथा सिक्किमका पूर्वमुख्यमन्त्री एवं वरिष्ठ साहित्यकार पवन चाम्लिङले पनि ‘हिमवत्खण्डमा नेपाली भाषा तथा नेपाली लोकसंस्कृतिको अवस्था’ सम्बन्धमा विशेष प्रस्तुति गर्नुहुनेछ । सम्मेलनमा विभिन्न जातजातिका लोकसंस्कृति झल्किने सांस्कृतिक झाँकी, प्राज्ञिक विमर्श, सांस्कृतिक प्रस्तुति, लोककला, भेषभूषा तथा लोकबाजाहरूको प्रदर्शनी, कविता उत्सव लगायत कार्यक्रमहरू समावेश गरिने अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । 

सम्मिलनको मुख्य थिम लोक संंस्कृति भए पनि चलचित्र र नेपाली सञ्चार माध्यमको भाषाका सम्बन्धमा पनि छलफल गरिने प्रतिष्ठानका अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । नेपाली सञ्चार माध्यममा नेपाली भाषा विषयक विमर्शमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मालगायतले कार्यपत्र प्रस्तुत गर्नुहुने आयोजकले जनाएको छ । 

यसअघि, वि.सं. २०७५ मा भानु जयन्तीका अवसरमा पहिलो पटक हिमवत्खण्ड कला–साहित्य सम्मिलन आयोजना गरिएको थियो । यस प्रकारको सम्मिलनले हिमवत्खण्डका साहित्य, कला र संस्कृतिको आदानप्रदान गर्ने अवसर प्रदान गर्दछ ।

नेपाल ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिकरुपमा विविधता भएको मुलुक हो जहाँ अथाह ज्ञानको भण्डार रहेको छ । यस्तो भूमिमा आयोजना हुने सम्मिलनले ऐतिहासिक तथा सांस्कृतिक धरोहरलाई जगेर्ना गर्दै विश्वसामु यसको महत्व उजागर गर्न सक्नुपर्दछ । नेपालको समृद्ध संस्कृतिलाई अझ प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सके संस्कृति पर्यटनको सम्भावना पनि रहनेछ । यस्ता गतिविधिले लोकसंस्कृतिलाई समृद्धिको आधार बनाउन सकिन्छ ।

सम्मिलनको उद्घाटनमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने छ भने सम्मिलनको परिकल्पनाकार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मिलनको समापन सत्रमा ‘हिमवत्खण्ड, यसको महिमा र लोकसंस्कृति’ विषयमा विशेष प्रवचन दिनुहुनेछ । हिमवत्खण्डमा पर्ने लोकसंस्कृतिले सम्पन्न नेपाल भूमिमा आयोजना गरिन लागिएको कला, साहित्य र सांस्कृतिक सम्मिलनले विश्वभरी छरिएर रहेका नेपाली भाषीबिचको एकतालाई समेत प्रगाढ बनाउन सक्दछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button