तपाईँ सुन्दै हुनुहुन्छः

बहुदरमाई नगरपालिकाका २० विद्यालय २४ दिनपछि सञ्चालनमा 

वीरगंज । माघ ६ गते देखि बन्द भएका पर्साको बहुदरमाई नगरपालिकाका २० वटा सामुदायिक विद्यालयहरू २४ दिनपछि आजबाट सञ्चालनमा आएका छन् । 

नगरपालिका अन्तर्गतको विद्यालयका शिक्षक, कर्मचारीहरूले आ.व. २०८१/०८२ को श्रावण महिनादेखि हाल सम्म तलव–भत्ता र विद्यालय सञ्चालन खर्च नपाएका भन्दै माघ ६ गते देखि विद्यालय बन्द गरी विद्यालयका साँचो प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाएका थिए ।

विद्यार्थीहरूको माध्यमिक शिक्षक परीक्षा (एस.इ.इ) लाई मध्यनजर आजदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नेपाल शिक्षक महासङ्घले जनाएको छ । शिक्षक महासङ्घकै नेतृत्वमा शिक्षकहरूले नगरपालिकाको सम्पूर्ण सामुदायिक विद्यालयको चाबी प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाएका थिए ।

चाबी फिर्ता दिँदै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला प्रशासन कार्यालयको तर्फबाट गर्नुपर्ने प्रयत्न धेरै गरेपनि समस्या समाधान हुन नसकेको अवस्थामा शिक्षक कर्मचारीहरूले विद्यार्थीहरूको भविष्यलाई सम्झिएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेकोमा कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले बहुदरमाई नगरपालिकाको नेतृत्वले लिनुपर्ने पहलकदमी नलिएपनि शिक्षकहरूको नैतिकता र उच्च इमान्दारिताले समस्या समाधान भएको आफूले बुझेको बताउनुभयो ।

बहुदरमाई नगरपालिकाको स्वास्थ्य शाखामा कर्मचारी आवश्यकताको भर्ना खुलेकोमा त्यसमा नगर प्रमुख सिंगासन साह तेलीले नियम र प्रक्रिया विपरीत आफूले भनेका व्यक्तिहरूलाई नियुक्ति गर्न भनेपनि प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाले नमानेपछि विवाद शुरु भएको थियो । तेलिले असार १० गते नै बोलाउनुपर्ने नगरसभा पनि बोलाएका थिएनन् ।

ढिलो गरी कार्तिक १२ गते नगरसभा भएपनि प्रमुख प्रशासकीय अधिकृतको सरुवा नभएसम्म अख्तियारी नदिने हठ कसेर बहुदरमाई नगरपालिकालाई बन्धक बनाइएको थियो । त्यसबाट नगरपालिकाका कर्मचारी, विद्यालयका शिक्षकहरू तल सुविधा पाउनबाट बञ्चित भएका थिए ।

तरपनि शिक्षकहरूले विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हुन् । उनीहरूले नगरपालिकाको ठप्प रहेको सम्पूर्ण काम सञ्चालनमा ल्याउन र विद्यालयसँग सरोकारित शिक्षक/शिक्षिका/वालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरूको तलव भत्ता र विद्यालय सञ्चालन खर्च यथाशीघ्र उपलब्ध गराउन समेत जनप्रतिनिधि र बहुदरमाई नगरपालिकासँग अनुरोध गरेका छन् ।

तलव–भत्ता र विद्यालय सञ्चालन खर्च उपलब्ध नगराएमा पुनः कडा भन्दा कडा आन्दोलन गरिने शिक्षक महासङ्घ पर्साका अध्यक्ष तिर्थ राज यादवले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button