कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १२ स्थित भाइरल रोडमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परी भीमदत्त नगरपालिका वडा नम्बर १३ बस्ने २१ वर्षीय कैलाशसिंह साउद र २२ वर्षीय गणेश विष्टको ज्यान गएको हो ।
सोमबार राति सुपप्र-०१-०१२प ९२४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको थियो । तीव्र गतिका कारण मोटरसाइकल नियन्त्रण बाहिर गएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्