समाजवादीको महाधिवेशनमा दोहोरो अङ्कमा आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा बहस
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले कृषि क्षेत्रको उत्पादन वृद्धि, न्यायपूर्ण वितरण तथा हरित ऊर्जाको प्रयोगलाई जोड दिने गरी नीति तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
आइतबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनको बन्द शत्रमा नेता तथा कार्यकर्ताले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने तथा छोटो समयमै दोहोरो अङ्कमा आर्थिक वृद्धिदर हासिल गर्न सकिने विषयलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।
संयोजक डा भट्टराईले भन्नुभयो, “त्यसका लागि राज्यको कुल बजेटको ४० प्रतिशत विकासमा खर्च गरिनुपर्छ । अरूले घिस्रने कुरा गरेका छन्, हामीले उफ्रने र उड्ने लक्ष्य बनाउनुपर्छ । विकास र समृद्धि प्राप्त गर्न पहिले उत्पादन बढाऔँ, पुग्ने गरी बाँडौँ । शिक्षा, स्वास्थ्य, रोजगारी राज्यबाटै सुनिश्चित गरौँ ।”
वैदेशिक लगानी भित्र्याउन विद्यमान कानुनी अड्चनमा सुधार गर्दै पुँजीपतिसँग सम्झौताका साथ ठूला पूर्वाधार निर्माण गर्न सकिने भन्दै उहाँले यसबाट रोजगारी र राजस्व प्राप्त हुने भएकाले प्रोत्साहनको नीति आवश्यक रहेको बताउनुभयो ।
संयोजक डा भट्टराईले योग र ध्यानको माध्यमद्वारा समाजमा सद्भाव काम गर्दै भौतिकसँगै मानसिक र आध्यात्मिक खुसीका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि राजनीतिक स्थिरता र सुशासन चाहिने भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गरिनुपर्ने उहाँको भनाइ थियो ।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी महाधिवेशनमा एक हजार पाँच समय प्रतिनिधिले भाग लिइरहेका छन् । महाधिवेशनले ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।
प्रचार विभाग प्रमुख मानुषी यमीले दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरूप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिइने बताउनुभयो ।
महाधिवेशनको बन्दसत्रमा संयोजकबाट प्रस्तुत राजनीतिक र साङ्गठनिक प्रस्तावमाथि समूहगत छलफल भएको छ । अब संयोजकबाट छलफलमा उठेका प्रश्नको सम्बोधन भएसँगै निर्वाचन आयोगलाई जिम्मेवारी हस्तान्तर गरिने जनाइएको छ । रासस
प्रतिक्रिया राख्नुहोस्