विद्यालयमा विद्यार्थीले अध्ययनसँगै आयआर्जनमा जोडिँदै
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/1-5-1024x576.jpg)
गुल्मी । गुल्मीको एक विद्यालयमा विद्यार्थीहरू अध्ययनसँगै आयआर्जनमा जोडिएका छन् । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ४ स्थित एकसिङ्ग माध्यमिक विद्यालयका विद्यार्थीले अध्ययन सँगै आयआर्जनमा जोडिँदै जोडिएका छन् ।
विद्यालयले जग्गा भाडामा लिएर कक्षा ९ मा अध्ययनरत विद्यार्थीद्वारा विद्यालय कृषि कार्यक्रम अन्तर्गत च्याउ खेती, टमाटर खेती, आलु खेती र मौरीपालन गरेका छन् ।
सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गरेर उत्पादनमा जोड्दै समृद्धिका सपनाहरूलाई यथार्थमा परिणत गर्ने उद्देश्यले विद्यालयमा विद्यार्थीहरूलाई कृषिमा जोडिएको विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी ज्ञवालीले बताउनुभयो । फुर्सदको समयमा विद्यार्थीहरूलाई परम्परागत खेती र पुराना कृषि प्रणालीबारे जानकारी दिने र श्रमसँग विद्यार्थीलाई जोड्ने विद्यालयका प्रधानाध्यापक ज्ञवालीले बताउनुभयो ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/1-4-1024x768.jpg)
विद्यार्थीले उत्पादन गरेका आलु, टमाटर, च्याउ र मौरीबाट उत्पादन गरिएको मह बजारमा बिक्री भएको विद्यालयले जनाएको छ । कृषि उपजबाट भएको आम्दानी विद्यालयको शैक्षिक सुधार कार्यक्रम अन्तर्गत खर्च गरिने भएको छ । कृषि उपजबाट भएको आम्दानी विद्यार्थीहरूलाई अध्ययन गर्दा नै खर्च गरिने विद्यालयले जनाएको छ ।
सत्यवती गाउँपालिका शिक्षा शाखा प्रमुख लोगराज गिरीले माध्यमिक तहका सबै विद्यालयमा कृषि कार्यक्रम अन्तर्गत विद्यार्थीलाई श्रमसँग जोडिएको बताउनुभयो । गाउँपालिकाले दुना टपरी बनाउने तालिम, गुड फ्राइडे, र विद्यालयमै नौमती बाजा बजाउने जस्ता कार्यक्रम गरिएको बताउनुभयो ।
सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले गाउँपालिकाले हरेक विद्यालयमा कृषि कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरेको बताउनुभयो । पछिल्लो समय सैद्धान्तिक ज्ञानको मात्र विकास भएको हुँदा व्यवहारिक ज्ञानलाई पनि सँगै अगाडी बढाउन सके राम्रो हुने उद्देश्यले गाउँपालिकाले कृषि सँग विद्यार्थीलाई जोडेको बताउनुभयो । कृषि पेशाबाट उत्पादन बढाउने र रोजगारीको समेत सिर्जना हुने हुँदा विद्यार्थीलाई सुरुबाटै कृषि पेशामा प्रोत्साहन गरेको बताउनुभयो ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/1-3-1024x576.jpg)
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/1-2-1-768x1024.jpg)
प्रतिक्रिया राख्नुहोस्