सांसदहरूद्वारा समसामयिक र राजनीतिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले संसदमा दर्ता भएको अध्यादेश, संसद्मा रहेका विधेयक अड्किएको विषय, भ्रष्टाचार निवारणलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सांसदहरुले विधायिकी काममा योग्यता प्रदर्शन गर्न नसकिरहेका कारण विधेयक समयमा टुङ्गोमा नपुग्दा धेरै कामहरू अवरुद्ध भइरहेको बताउनुभयो ।
उहाँले संसदमा रहेका भ्रष्टाचार, अख्तियार, शिक्षा, निजामती कर्मचारी लगायतका विधेयक छिट्टै टुङ्गोमा पुर्याएर संसदले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने भन्दै कानुन निर्माणमा भइरहेको ढिलाइका विषयमा एकले अर्कालाई दोष लगाएर पन्छिन नमिल्ने बताउनुभयो ।
नेकपा एमालेका सांसद पदम गिरीले सरकारले नेपाली जनताको हितमा छिटो काम गर्न, व्यापार व्यवसायको सुधार र अर्थतन्त्रको विकास गर्नका लागि अध्यादेश ल्याएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले अध्यादेश मार्फत कानुन बनाउने कुरा छोडेर संसदबाट कानुन बनाउने बाटोमा आउनुपर्ने विषयमा आफूहरू बोलिरहेको बताउनुभयो ।
उहाँले अध्यादेशमा आएका भूमि लगायतका कतिपय विषय प्रक्रिया र विषय बस्तुका हिसाबले असान्दर्भिक र अव्यवहारिक रहेको पनि बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले आफ्नो पार्टीका सभापति एवं सांसद रवि लामिछानेको सांसद पदमाथि भएको निलम्बन प्रक्रिया अन्यायपूर्ण भएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा रोशन कार्की, प्रकाश ज्वाला, रन्जु कुमारी झालगायतका सांसदहरुले समसामयिक विकास निर्माण, राजनीति लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्