तपाईँ सुन्दै हुनुहुन्छः

उद्योगी व्यवसायीको पक्षमा नयाँ औद्योगिक नीति ल्याइने : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योगी व्यवसायीको पक्षमा नयाँ औद्योगिक नीति ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘औद्योगिक नीति २०८१ को मस्यौदामाथि सरोकार भएकाहरूबीचको अन्तरक्रिया कार्यक्रममा उहाँले निजी क्षेत्रसहित स्वदेशी कच्चापदार्थलाई बढावा दिने गरी औद्योगिक नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

आयातित कच्चापदार्थबाट उत्पादन हुने वस्तुले विदेशी बजारमा प्रतिस्पर्धा गर्न नसक्ने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले उत्पादन खर्च कम हुने तथा आयआर्जन पनि गर्न सकिने स्वदेशी कच्चापदार्थमा आधारित उद्योगलाई बढावा दिने गरी औद्योगिक नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले राज्यलाई भरण पोषणमा सहयोग पुर्‍याउने तथा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने औद्योगिक नीति आवश्यक रहेको बताउनुभयो । उहाँले उच्चकोटीको गुणस्तरीय वस्तु उत्पादन गरी लाभान्वित हुन निजी क्षेत्रसँग अनुरोध गर्दै मध्यम स्तरका उद्योग स्थापना गर्ने जिम्मेवारी प्रदेशलाई दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले हाम्रा नीति तथा कार्यक्रम राम्रा भए पनि आपसी समन्वयसहित कार्यान्वयन पक्ष चुस्तदुरुस्त नभए अपेक्षित परिणाम हासिल गर्न नसक्नेतर्फ सम्बद्ध पक्षको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।  

प्रमुख कोइरालाले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउने, रोजगारी सिर्जनासहित राजस्व सङ्कलनमा महत्वपूर्ण योगदान दिने समग्र निजी क्षेत्रको विश्वास जित्ने गरी नीति तथा कार्यक्रम ल्याई कामकाजमा सहजीकरण गरिदिनुपर्नेमा जोड दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button