‘विपिन जोशीको रिहाइका लागि सरकारले कुनै कसुर बाँकी राखेको छैन’
धनगढी । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले विपिन जोशीको रिहाइका लागि सरकारले कुनै कसुर बाँकी नराखेको बताउनुभएको छ ।

धनगढीमा आज नेपाली काँग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्नुहुँदै परराष्ट्र मन्त्री राणाले विपिन जोशीको रिहाइका लागि सम्पुर्ण प्रयास भइरहेको बताउनुभयो ।
परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूले सक्ने जति कामका लागि सम्पूर्ण प्रयास एवं जिम्मेवारी निभाउन लागिपरेको मन्त्री राणाले बताउनुभयो । ‘देशमा विकास भएको छ, सरकार विकास र समृद्धिका लागि क्रियाशील छ, त्यसैले भ्रम र हल्लापछि नलागी आफूले देखेका कुरा गरौँ’ उहाँले भन्नुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय समेत रहनुभएका मन्त्री राणाले देश र जनताको हितका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुहुँदै पार्टीलाई क्रियाशील, सुदृढ, एकताबद्ध बनाएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
राष्ट्रिय सभा सदस्य तथा नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टको अध्यक्षतामा भएको सम्मेलनमा पार्टीका केन्द्रिय सदस्यहरु योगेन्द्र चौधरी, रामजनम चौधरी, डा.रणबहादुर रावल, नृप बड, सुशिला मिश्र भट्ट, जीवन राना, प्रदेश महामन्त्री नरनारायण शाह लगायतले पार्टीलाई एकजुट बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्