प्रादेशिक महोत्सवमा डेढ लाखले गरे अवलोकन, ६ करोडको कारोबार
बाँके। नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले आयोजना गरेको प्रादेशिक महोत्सव बुधबार सम्पन्न भएको छ। महोत्सव १०–२२ माघसम्म सञ्चालन गरिएपनि, निर्धारित मितिको अर्को दिन, अर्थात् १४औं दिनमा औपचारिक समापन समारोह गरिएको हो।
समापन समारोहलाई सम्बोधन गर्दै संघका अध्यक्ष टंकबहादुर धामीले करिब डेढ लाख जनाले महोत्सवको अवलोकन गरेको र ६ करोड रुपैयाँ बराबरको कारोबार भएको जानकारी दिनुभयो। महोत्सवको तथ्याङ्क समितिले स्टल व्यवसायीसँग संकलन गरेको विवरणमा ६ करोडको कारोबार देखिए पनि, वास्तविक कारोबार भने अझ बढी भएको अनुमान गरिएको छ। अध्यक्ष धामीले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै केही दिनमा महोत्सवको हिसाबकिताब सार्वजनिक गर्ने बताउनुभयो।
समापन समारोह नेपाल वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उपाध्यक्ष वैद्यले देशभरिका १६८ उद्योग वाणिज्य संघलाई मात्र मेला र महोत्सव सञ्चालनको अनुमति दिन सरकारसँग माग गरे। “हामी मेला महोत्सव रमाइलो र टाइमपासको लागि मात्र गर्दैनौं, व्यापारिक प्रवर्द्धनका लागि गर्छौं,” उहाँले भन्नुभयो, “अहिले क्लब र संघसंस्थाहरुले मेला महोत्सव सञ्चालन गर्न थालेका छन्। वडाध्यक्षले पनि मेला महोत्सव गर्न लागेको बताएका छन्, यो दुःखको कुरा हो। आर्थिक क्षेत्रको विज्ञता उद्योग वाणिज्यसँग भएकाले संस्थालाई मात्र मेला महोत्सव सञ्चालन गर्न दिनुपर्छ। त्यसैले नेपाल सरकारले मेला महोत्सव उद्योग वाणिज्य संघमार्फत मात्र गर्न दिनुपर्छ।”
समापन समारोहमा संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश प्रतिनिधि देवेन्द्र पाण्डे, संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष प्रेम शाह, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईलगायतले महोत्सव सफलतापूर्वक सम्पन्न गरेकोमा नेपालगन्ज उद्योग वाणिज्य संघलाई बधाई दिएका थिए।
समारोहमा संघले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने व्यक्तिहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरेको थियो।
नेपालगन्ज उद्योग वाणिज्य संघको प्रादेशिक महोत्सव २०८१ मा आयोजित एकल नृत्य प्रतियोगितामा ३४ जना प्रतिस्पर्धीलाई उछिन्दै दिलिप चुनाराले उपाधि जितेका छन्। विजेता चुनारालाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, प्रतियोगिताको पुरस्कार प्रायोजक नेपाल ज्वैलर्सका संचालक सकिल अहमद जसगढलगायतले नगद ५१ हजार, प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए।








प्रतिक्रिया राख्नुहोस्