तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली चियाको भारत निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारसँग माग

काठमाडौँ । चिया उत्पादकहरूको नेपाली चियाको भारत निर्यातमा देखिएका समस्याका समाधान गर्न सरकारसँग माग गरेका छन्  । 

प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिहरूले बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै त्यस्तो माग गर्नु भएको हो । 

ती संस्थाले नेपालमै अक्सन (लिलामी प्रक्रिया) केन्द्र सञ्चालन, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्काल उपलब्ध गराउन र चिया बगान क्षेत्रमा सहज विद्युत् आपूर्ति र महसुलको प्रबन्ध गरिनु पर्नेलगायत माग प्रधानमन्त्रीसमक्ष राखेका छन् ।

चिया उत्पादकहरूको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाउनुभयो ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौपचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने पनि बताउनु भयो  । प्रधानमन्त्रीले नेपाली चियाको उचित बजार प्रवद्र्धन र विस्तारमा ध्यान दिन उद्यमीहरूलाई सुझाव दिनुभयो ।

प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातबाट वार्षिक  छ अर्बको विदेशी मुद्रा स्वदेश भित्रिँदै आएकामा हाल भारत सरकारबाट नेपाली चियालाई अनिवार्य भारतीय अक्सन (लिलामी प्रक्रिया)मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था हुन लागेकाले यसबाट नेपाली उद्योगीलाई मार पर्ने विषयमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button