तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधान संशोधनको माध्यमद्वारा मात्र निर्वाचन प्रणाली संशोधन गर्दा उपयुक्त हुने’

काठमाडाैँ । निर्वाचन आयोगले संविधान संशोधनको माध्यमद्वारा मात्र निर्वाचन प्रणालीमा संशोधन गर्न उपयुक्त हुने धारणा राखेको छ ।

राष्ट्रियसभा, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणाली कस्तो हुने भन्ने राजनीतिक विषय भएको र संविधान संशोधनद्वारा मात्र परिमार्जन गर्न सकिने हुँदा वृहत् अध्ययन गरेर सहमतियुक्त धारणासहित निर्वाचन प्रणाली संशोधन गर्दा उपयुक्त हुने प्रष्ट पार्नुभयो ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधान संशोधन मात्र निर्वाचन प्रणालीको विकल्प नभई वर्तमान प्रणालीभित्र कानुनी, संरचनागत र प्रक्रियागत सुधार गर्न सकिने विषयतर्फ ध्यान केन्द्रित हुनुपर्नेमा पनि जोड दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन व्यवस्थापन ऐन र निर्वाचन आयोग ऐनमा सुधार गरेर विद्यमान प्रणालीको सुदृढीकरण र निर्वाचन प्रक्रियामा सुधार गर्न सकिने उल्लेख गर्नुभयो ।

यस्तै, प्रत्यक्षतर्फ कम्तीमा एक तिहाइ महिला उम्मेदवारी दिने गरी कानुनी व्यवस्था गरिएमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व हुन नसकेको वर्ग, समुदाय र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्न सकिने समेत प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।

बैठकमा सहभागी सांसदहरुले विद्युतीय निर्वाचन प्रणालीमा जानुपर्ने, महिला प्रतिनिधित्व वृद्धिलाई सुनिश्चित गर्नुपर्ने, निर्वाचन आचारसंहितालाई दृढताका साथ कार्यान्वयन गर्न गराउन सुझाव राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button