माघ २५ देखि ‘टुर डे ठाकुरद्वारा’आयोजना हुँदै
'२०० बढी साइकल यात्री सहभागी हुँदै
नेपालगन्ज । बाँके-बर्दियाको पर्यटन प्रवर्द्धन तथा साइकल संस्कृतिको विकास गर्न सातौं संस्करणको टुर डे ठाकुरद्वारा माघ २५ र २६ गते आयोजना हुँदैछ । नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा हुने इभेन्टको सम्पूर्ण तयारी पूरा भएको छ ।
इभेन्टको तयारीबारे जानकारी दिन आज नेपालगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा इभेन्ट संयोजक सुरेन्द्र दीप कार्कीले देश-विदेशका गरी २०० बढी महिला र पुरुष साइकल यात्रीहरूले सहभागिता जनाउने जानकारी दिनुभयो । त्यस मध्ये भारतबाट २९ र चीनबाट १ जना साइकल यात्री सहभागी हुने कार्कीले बताउनुभयो ।
माघ २५ गते बिहान नेपालगन्जको बागेश्वरी मन्दिर परिसरबाट साइकल यात्रा सुरु हुने नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले ‘टुर दि ठाकुरद्वारा’ को उद्घाटन गर्ने सापकोटाले बताउनुभयो ।
साइकल यात्रा बागेश्वरी मन्दिर परिसरबाट सुरु भई त्रिभुवन चोक, बिपी चोक, सुर्खेत रोड हुँदै कोहलपुर, केदारेश्वर धाम, सतखलुवा सिमसार क्षेत्र हुँदै बाटोमा रहेका विभिन्न धार्मिक पर्यटकीय स्थल र पर्यटकीय क्षेत्रको भ्रमण गराउँदै ठाकुरद्वारा मन्दिर पुग्ने कार्यक्रम छ । बागेश्वरी मन्दिरदेखि ठाकुर बाबा मन्दिरसम्मको दुरी करिब १०० किलोमिटर छ ।
सातौं संस्करणको टुर डे ठाकुरद्वारा इभेन्टका लागि २७ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजक नेपालगन्ज साइक्लिङ क्लबले जनाएको छ । विश्वकै चर्चित इभी मोटर BYD मुख्य प्रायोजकको रुपमा छ । नेपालगन्ज साइक्लिङ क्लबले माघ २४ गते भोलि सिद्धार्थ नेपालगन्ज किड्स रेस पनि आयोजना गर्दैछ ।
प्रतिक्रिया राख्नुहोस्