लोप हुँदै खरले छाएका परम्परागत घर
रोल्पा । रोल्पा जिल्लाका ग्रामीण र ससाना गाउँका बजार भेगमा प्रशस्त पाइने परम्परागत मौलिक कला र सीपले सजिएका खरले छाएका आकर्षक घरहरू बिस्तारै बाह्य प्रभाव र आधुनिकताको दबाबसँगै विस्थापित हुँदै लोप हुन थालेका छन् ।

गाउँघर, वनजंगल र खरबारीमा सहजै पाइने काठ, ढुङ्गा, माटो, लहरा, चोया बाँस, बाबियो र खर घाँसजस्ता स्थानीय सामग्रीबाट निर्माण गरिने यस्ता घरहरू कम लागतमा तयार हुने र वर्षौंसम्म टिक्ने खरका छाना भएका घरहरू केवल आवास मात्र नभई गाउँको मौलिक पहिचान र सांस्कृतिक सम्पदाका रूपमा चिनिन्थे ।
स्थानीय बुढापाकाका अनुसार खरले छाएका घर कम लागतमा निर्माण गर्न सकिन्छ र पुस्तौँसम्म टिकाउ हुन्छन् खर पुरानो भई गलेपछि ३ देखि ५ वर्षमा फेरि छाना फेर्न सकिने र त्यसका लागि ३–४ दिन मात्र समय लाग्ने बताउँछन् ।
पछिल्लो समय भने कङ्क्रिट, सिमेन्ट, बालुवा, गिट्टी र छडबाट बनेका पक्की घरहरू आधुनिकताको प्रतीकका रूपमा व्यापक बन्दै गएका छन् यस्ता घर निर्माणमा लाखौँ रुपैयाँ खर्च हुने भएकाले सामान्य आयस्रोत भएका परिवारका लागि ठूलो आर्थिक भार बनेको छ ।
खरले छाएका घर मानव र पशु चौपायाका लागि बहुउपयोगी, वातावरणमैत्री र पर्यटन प्रवद्र्धनका दृष्टिले पनि महत्वपूर्ण मानिन्छन् । शहर र विदेशको कोलाहल, गर्मी–जाडो र व्यस्त जीवनबाट थाकेका मानिसहरू गाउँको जीवन शैली शान्त वातावरणमा केही समय बिताउन चाहन्छन् । यस्ता मौलिक घरहरूले ग्रामीण पर्यटन गन्तव्यको आधार बोकेको पाइन्छ ।








प्रतिक्रिया राख्नुहोस्