परम्परागत कालो तिल खेती हरायो: आयातित तेलको अधिक प्रयोग
मुगु । पहिलेपहिले गाउँघरमा सहजै पाइने कालो तिल खेती अहिले लोप हुने अवस्थामा पुगेको छ। स्थानीयस्तरमा तेल निकाल्ने परम्परागत विधिहरू हराउँदै जाँदा बजारमा आयातित तेलको प्रयोग उल्लेखनीय रूपमा वृद्धि भएको छ।
गाउँका वृद्ध वृद्धाका अनुसार पहिले महिलाहरू ढुङ्गाको दुनेरी प्रयोग गरी तेल निकाल्ने गर्थे। तर अहिले यो परम्परा हराउँदै गएको छ। आधुनिक प्रविधिको प्रयोग र बाहिरी तेलको सहज उपलब्धताले गर्दा स्थानीय उत्पादन घट्दै गएको स्थानीय कृषक लाप्से बिकले बताउनुभयो ।
‘पहिले हरेक घरमा तिल खेती गरिन्थ्यो, अहिले न त खेतबारी बाँकी छ, न त पुरानो परम्परा। बजारमा सहजै पाइने तेलले हाम्रो परम्परागत खेती नै विस्थापित भइसकेको छ,’ स्थानीय बासिन्दा झुप्री नेपालीले बताउनुभयाे ।
विशेष गरी पहाडी र हिमाली भेगमा परम्परागत रूपमा तेल निकाल्ने चलन रहेको भए पनि हाल यो प्रवृत्ति हराउँदै गएको छ। सरकारले स्थानीय तेल बाली प्रवर्द्धन गर्न पहल नगरेको र आयातित तेलमाथि निर्भरता बढेको कारण परम्परागत कालो तिल खेती लोप हुने अवस्थामा पुगेको विज्ञहरूले बताएका छन्।
स्थानीय उत्पादन प्रवर्द्धन गर्न सरकारको ध्यान जानु आवश्यक रहेको किसानहरूको माग छ। यदि समयमै उचित नीति ल्याइएन भने स्थानीय उत्पादनहरू पूर्ण रूपमा हराउने चिन्ता ब्यक्त गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्