बाँकेमा एचपीभी खोपअभियान सुरु: करिब ३७ हजार किशोरीलाई खोप लगाउने लक्ष
नेपालगन्ज । बाँकेमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीस्थित धम्बोझी माविबाट खोप लगाउने कार्यको सुरुवात गरिएको हो ।
नगर प्रमुख प्रशान्त विष्टले खोप अभियानको शुभारम्भ गर्नुभएको हो । विष्टले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन खोप प्रभावकारी भएको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, धम्बोझी माविका प्रधानाध्यापक बामदेव सुवेदी लगायतको उपस्थिति थियो ।
बाँकेमा करिब ३७ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपीभी० खोप लगाइँदै छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका आठ स्थानीय तहमा रहेका ३६ हजार ९ सय ५० जना किशोरीलाई खोप लगाइने भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन श्रेष्ठले बाँकेमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको जानकारी दिनुभयो ।
फोकल पर्सन श्रेष्ठका अनुसार तीन सय ७८ वटा विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउनका लागि जिल्लामा चार सय ५९ वटा खोप केन्द्र तोकिएको छ । जसमा तीन सय ७८ वटा विद्यालयमा र ८१ वटा विद्यालय बाहिर खोप केन्द्र छन् । फोकल पर्सन श्रेष्ठका अनुसार पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका २२ हजार ५ सय ८९ जना किशोरीलाई आजदेखि फागुन १ गतेसम्म खोप लगाइनेछ ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख चन्दका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडाका ९ हजार ३ सय १९ जना किशोरीलाई एचपिभी खोप दिन लागिएको छ । उपमहानगरपालिकाका विद्यालयमा अध्ययनरत ७ हजार ४ सय ९८ जना र विद्यालय बाहिर रहेका १ हजार ८ सय २१ जना किशोरीलाई खोप लगाउन लागिएको चन्दले जानकारी दिनुभयो । ९९ सय वटा विद्यालय र २३ वटा स्वास्थ्य संस्था गरी एक सय २३ वटा खोप केन्द्रबाट माघ २२ देखि २९ गतेसम्म एचपिभी खोप लगाइने जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो ।
दोस्रो चरणमा माघ ३० गतेदेखि राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका गरी ४ वटा पालिकाका १२ हजार ३ सय ६१ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको पनि श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्