जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन
तनहुँ । प्रसिद्ध धार्मिकस्थल देवघाट धाममा एक महिने महामहोत्सव चलिरहेको छ । महामहोत्सव लागेसँगै भक्तजनको आगमन बढ्दो छ । भीड बढेपछि जीर्ण अवस्थामा पुगेको झोलुङ्गेमार्फत आवतजावत गर्न भक्तजन बाध्य भएका छन् ।
तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलबाट आवतजावतमा समस्या हुनाका साथै जोखिममा यात्रा गर्न भक्तजन बाध्य छन् । भीड धेरै हुँदा पुल चुँडिने जोखिम भएपछि आवतजावतका लागि सीमा तोकिएको छ ।
भक्तजनको भीडका कारण तोकिएको सीमा पार हुने गरेको स्थानीय बताउँछन् । जोखिम न्यूनीकरणका लागि एक पटकमा १०० जना मात्र आवतजावत गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ । भीड बढी हुँदा अनुमति कार्यान्वयनमा आउन मुस्किल भएको छ । जोखिमबाट बच्नका लागि पुलको दुवैतर्फ प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा त्रिशूली नदीमा रहेको ४४ वर्ष पुरानो उक्त झोलुङ्गे पुलमा तीर्थयात्रीको चाप बढ्दा जोखिम भएकाले सीमा निर्धारण गरिएको उल्लेख गरिएको छ । उक्त पुलमा वारपार गर्न नियन्त्रित रुपमा एक पटकमा १०० व्यक्ति मात्रै आवतजावत गर्ने र मोटरसाइकल पूर्ण रुपमा बन्द गर्ने व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालयसहित सबै सरोकारवालालाई निर्देशन दिइएको छ ।
सस्पेन्सन ब्रिज डिभिजन पुल्चोक ललितपुरले सोमबार जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै उक्त पुल तथा सर्वसाधारण यात्रुको सुरक्षाका लागि पुलमा सावधानीका सबै उपाय अवलम्बन गर्न अनुरोध गरेको थियो । सो ठाउँमा मोटरेबल पुल नहुँदा भक्तजन अझै पनि झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भएका छन् ।
वर्षौँअघि देखि मोटर चल्ने पुलको माग राखे पनि सुनुवाइ नहुँदा भक्तजन बढ्दाको समयमा समस्या भएको तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो । माघे सङ्क्रान्ति मेला लाग्ने बेलामा मात्रै समस्या आउने गरेको जीर्ण अवस्थामा पुगेको झोलुङ्गे पुलको यात्रामा अहिले अझ जोखिम बढेको उहाँले बताउनुभयो ।
चितवनको दासढुङ्गा, ठिमुरा र नवलपुरतर्फमा मोटरेवल पुल छन् । तर आफ्ना सवारी साधन नभई दर्शनका लागि आउने भक्तजनलाई घुमाउरो पर्ने हुँदा पनि जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न भक्तजन बाध्य भएका हुन् । उक्त पुल विसं २०३७ मा निर्माण गरिएको हो । भक्तजनको आवतजावत बढ्ने समयमा मर्मत गर्दै सञ्चालनमा ल्याउने गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्