तपाईँ सुन्दै हुनुहुन्छः

माघे औँसीमा त्रिवेणी धाममा भक्तजनको घुइँचो 

नवलपरासी,पश्चिम् । माघे औँसीका अवसरमा हजारौँ भक्तजन पूर्वी नवलपरासीको त्रिवेणी धाममा श्रद्धालु भक्तजनको घुईचो लागेको छ । प्रत्येक बर्ष माघे औँसीको अघिल्लो दिन देखि नै यहाँ मेला लाग्ने गरेको छ।

भारतको विहार, उत्तर प्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजन यहाँ स्नान गर्न र पूजापाठ गर्न आएका छ्न ।

भक्तजनले त्रिवेणी धाममा दर्जनौँ मठमन्दिरमा रातभर भजनकीर्तन गरेर रात कटाएका छन्। त्रिवेणी धाम क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन गरेको तथा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको मेलामा बिहानैदेखि पूजापाठ र भजनकीर्तन गर्नेको घुइँचो लागेको हो।

मेलाको भीडभाडमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षाकर्मीको सङ्ख्या पनि बढाइएको छ भने उद्धारका लागि स्वास्थ्यकर्मी र प्रहरीको उद्धार टोली पनि खटिएको बताईएको छ ।माघे औँसीमा त्रिवेणी धाममा स्नान गर्न देवतासमेत आउने जनविश्वास रहेकाले औँसीमा यहाँ स्नान गर्नाले पुण्य मिल्ने परापूर्वकालदेखिको विश्वास रहिआएको छ ।

स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीधाम भएकाले र महिनामा माघ श्रेष्ठ महिना भएका कारण औँसीका अवसरमा बाबुआमा नहुनेले यहाँ श्राद्ध गर्ने र दान दिने चलन रहि आएको छ। त्रिवेणी धाम त्रेता युगमा वाल्मीकी ऋषिको तपोभूमि, लवकुशको जन्मस्थल, सीतामाता धर्तीमा पाताल प्रवेश गरेको स्थल भएकाले यो स्थान प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल हो।

परापूर्वकालमा हात्ती र गोहीको लडाइँमा भगवान् नारायणले अवतार लिएर हात्तीलाई मोक्ष दिलाएको कारण यस धामलाई गजेन्द्र मोक्ष धाम भन्ने गरिएको जनविश्वास रहँदै आएको छ।हजारौ श्रद्धालु भक्तजनका कारण सवारी साधनको चापले पुरै सडक भरिभराउ छ ।ट्राफिक ब्यवस्थापनमा समेत कठिनाई देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button