तपाईँ सुन्दै हुनुहुन्छः

गाउँ-गाउँमा स्थानीय उद्यमशीलताको विकास गरौँ: सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भर र रोजगारी सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले आज आयोजना गरेको नेपाल स्टार्टअप र एसएमइ सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्‍याउने बताउनुभयो । 

पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको र युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरिरहेको उल्लेख गर्नुहुँदै सभापति देउवाले यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले थोरै लगानीमै स्टार्ट अप व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन सकिने बताउनुभयो । 

सभापति देउवाले बहु सम्भावनाका कृषि, वन, जडीबुटी, पर्यटन, प्रविधि जस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठूलो टेवा पुग्ने बताउनुभयो ।

दुई दिनसम्म सम्मेलनमा विभिन्न नवीन उत्पादन, सेवाहरूको प्रदर्शनी गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button