अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ प्रतियोगिता सुरु,
माघ । पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ प्रतियोगिता २०८१ सुरु भएको छ ।
बगर भाइखलकको आयोजनामा मङ्गलवार देखि सुरु भएको १४ औँ अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा आयोजक बगर भाईखलकले विजयी सुरुवात गरेको छ ।
‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरूका लागि नौलो आयाम’ भन्ने नारासहित पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुँडिखेलमा सुरु भएको आजको उद्घाटन खेलमा संगम भेट्रान्स विजयी भएको छ ।
यस्तै अर्को खेलमा आयोजक भाइखलकले विष्णु पादुका हेमजालाई ३–० गोल अन्तरले पराजित गर्यो । भाइखलकको जीतमा नरेश केसी र शशी राईले समान १÷१ गोलको योगदान दिनुभयो । हेमजाका गोलरक्षक राजु श्रेष्ठले आत्मघाती गोल गर्न पुग्नुभयो । खेलबाट बगर भाइखलकका नरेश केसी म्यान अफ द म्याच घोषित हुनुभयो ।
भोलि (बुधबार) पनि पहिलो चरणकै खेलहरू हुने भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताको तिन वटा विधामा (४० वर्ष उमेर पूरा भएको विधामा १९ टिम, ५० वर्ष उमेर समूहतर्फ १४ टिम र ६० वर्ष उमेर पूरा भएका ६ समूह) कुल ३९ टिमको सहभागिता रहेको छ ।
बगर भाइखलकका महासचिव मनकाजी गुरुङले ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताउनुभयो ।
यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । १३ औँ संस्करणको प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फ जोरपाटी भेट्रान्स काठमाडौँ, ५० वर्ष उमेर समूहतर्फ संगम भेट्रान्स पोखरा र ६० वर्ष उमेर समूहतर्फ बगर भाइ खलकले उपाधि जितेको थियो ।
प्रतियोगितामा भारतको देहरादुन, काठमाडौँ, ललितपुर, चितवन, सिरहा, हेटौँडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको पूर्व अध्यक्ष दिल बहादुर गुरुङले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्