तपाईँ सुन्दै हुनुहुन्छः

सूर्यविनायक नगरपालिकाको नवनिर्मित भवन सोमबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुहुने

भक्तपुर । सुर्यविनायक नगरपालिकाको कार्यालय अब आफ्नै भवनमा स्थानान्तरण हुने भएको छ । भवनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गते सोमबारका दिन गर्ने मिति तय गरिएको नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

हालको कार्यालय कटुन्जेको नजिकै बनेको नयाँ भवन बाबु रत्न जेभी कन्स्ट्रक्सन कम्पनीले भ्याटबाहेक २० करोड ४१ लाख ५२ हजार रुपैयाँ बराबर रकममा निर्माण गरेको नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।

भवन पूर्णरुपमा अपाङ्गमैत्री रहेको र सोमबारबाट नगरपालिकाले आफ्नै भवनबाट सेवा सुविधा दिन सुरु गर्ने  उहाँले बताउनुभयो ।

६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको कार्यालय परिसरमा भवन ३ रोपनी एक आनामा बनेको छ । नयाँ भवनमा करिब ५०० सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ रहेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तारानाथ लुइँटेलले जानकारी दिनुभयो । 

नवनिर्मित भवनमा दुईवटा लिफ्ट, ३०० जना अट्ने सेमिनार हल, दुई वटा बैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेका छन् । त्यस्तै ९२ वटा कार्यालय कक्ष साथै स्तनपान कक्षसमेत रहेको छ ।

हाल नगरपालिकाले सेवा सुविधा दिँदै आएको भवनका लागि मासिक १ लाख २० हजार रुपैयाँ भाडा तिर्ने गरेको नगरपालिकाका प्रमुख  थापाले जानकारी दिनुभयो । 

नयाँमा भवनमा कार्यालय सरेपछि नगरबासीलाई सेवा लिन आउँदा थप सहज हुने नगरप्रमुख थापाको भनाइ छ । 

नगरपालिकाको सुविधा सम्पन्न नयाँ प्रशासकीय भवन उद्घाटनको कार्यक्रम तय भएसँगै त्यसका लागि आवश्यक तयारी तीव्र बनाइएको छ भने नगर प्रमुख  थापा, उपप्रमुख सरिता तिमसिना भट्टराई र १० वटै वडाका वडाध्यक्षहरू, प्राविधिक तथा जनप्रतिनिधिको टोलीले भवनको निरीक्षण गरेको छ ।

भवन निर्माणले  नगरवासीहरूलाई अझ प्रभावकारी, छिटो र गुणस्तरीय सेवा प्रदान गर्न मद्दत गर्नेछ भन्ने विश्वासमा बढोत्तरी भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button