तपाईँ सुन्दै हुनुहुन्छः

‘इलाम साहित्य महोत्सव’ को चौथो संस्करण आगामी चैत १ गतेदेखि 

इलाम  । ‘इलाम साहित्य महोत्सव’ आगामी चैत १ गतेदेखि इलाममा सुरु हुने भएको छ । 

इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा हुन लागेको महोत्सव दुई दिनसम्म सञ्चालन गरिने आज इलाममा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो । 

उहाँले इलामको विशेषतालाई बाहिर प्रचारप्रसार गर्न महोत्सवले सघाउन पुग्ने र इलामको पर्यटन प्रवर्द्धनमा टेवा मिल्ने बताउनुभयो  । “साहित्य मात्रै नभर सामाजिक आर्थिक र राजनीतिक विषयवस्तुमाथि बहस छलफल हुने भएकोले यसको चौतर्फी लाभ मिल्नेछ ।”, उहाँले भन्नुभयो । 

‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ आयोजना हुने  महोत्सवको चौथो संस्करणको तयारी थालिएको पनि पत्रकार सम्मेलनमार्फत जनाइएको छ । 

यसपटककाे महोत्सवमा नेपाल र भारतसहित श्रीलङ्का, बङ्गलादेशलगायतका देशका साहित्यका, विश्लेषक, लेखक, कलाकारको सहभागिता रहने भएकोले दर्शकको सहभागिता पनि उल्लेख्य हुने इलाम साहित्य समाजका सचिव रोशन राईले बताउनुभयो । 

इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका सचिव जयनारायण भट्टराईले साहित्य महोत्सवले पठन संस्कृतिको विकास हुने बताउनुभयो । यस पटक विद्यालयहरूमा समेत सम्पर्क गरेर विद्यार्थीहरू सहभागी गराई मोबाइल, कम्प्युटर जस्ता ग्याजेटसँग रमाउने पुस्तामा पठन संस्कृतिमा आकर्षित गर्न सकिने उहाँको भनाई छ । 

इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा हुने महोत्सवमा साहित्यकार, कलाकार, विश्लेषक , चिन्तक ,राजनीतिकर्मीलगायतलाई एकै थलोमा जमघट गराई बहस छलफल साथै साहित्यिक गतिविधिहरू सञ्चालन हुने छ । 

महोत्सवमा इलामको विशेष, मौलिक गीत सङ्गीत, यहाँका विभिन्न जातजातिको भेषभुषा कला संस्कृतिलाई समेत समेट्ने भट्टराईले बताउनुभयो । 

कार्यक्रममा राजनीति, साहित्य, पर्यटन , चलचित्र, कृषि, पत्रकारिता जस्ता विधामा बहस गर्ने आयोजकको तयारी छ ।  विचार र कविता गजल वाचन पनि महोत्सवको आकर्षणको रुपमा रहने जनाइएको छ । 

महोत्सवमा करिब २२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका कोषाध्यक्ष दिपेश श्रेष्ठले बताउनुभयो । 

इलाम नगरपालिका, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट कार्यक्रमको लागि सहयोग गर्ने निश्चित भएको र अन्य स्थानीय तहमा पनि पहल भइरहेको उहाँले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button