तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश लोकसेवा आयोगप्रति जनविश्वास : प्रदेश प्रमुख खापुङ

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोक सेवा आयोगप्रति जनविश्वास रहको बताउनुभएको छ । प्रदेश लोकसेवा आयोगको पाँचौँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै उहाँले सार्वजनिक प्रशासन सेवामार्फत देश जनताको सेवाका लागि दक्ष जनशक्ति सिफारिस गर्न आयोगको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुख खापुङले आयोगले आगामी दिनमा जनताप्रति उत्तरदायी हुन सक्षम, सुदृढ र सबल कर्मचारी छनोटमा अझ चनाखो भई काम गर्न सुझाव दिनुभयो । 

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश लोकसेवा आयोगले मर्यादा र उचाई वृद्धि गरी उत्कृष्ट परिणाम दिन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी ५० वर्षपछि सम्मका लागि ध्यानमा राखी आयोगको अत्याधुनिक भवन निर्माण आगामी वर्षदेखि सुरु गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेश लोकसेवा आयोगलाई बलियो बनाइ जनतामा आकर्षण वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशमा जनतामैत्री कानुन ल्याउनुपर्नेमा जोड दिनुभयो । 

प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आयोगको निष्पक्ष कार्यले दुर्गम क्षेत्रका युवा उच्च पदमा आउन सफल भएको बताउनुभयो ।

आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँ, सदस्य सजना दाहाल, टीकादत्त राई, सचिव तीर्थप्रसाद धिताल र प्रा कृष्ण पोखरेलले आयोगले गोपनीयताका कायम राखी निष्पक्ष, निर्विवाद ढङ्गले कार्य गरिरहेको बताउनुभयो । 

सोही अवसरमा प्रदेश प्रमुख खापुङलगायतले आयोगद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नुभयो । आयोगमा हालसम्म तीन लाख ३८ हजार तीन सय ४३ ले विभिन्न पदका लागि दरखास्त दिएका छन्, भने दुई हजार एक सय दुई जनालाई विभिन्न पदमा नियुक्ति सिफारिस गरिसकेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button