तपाईँ सुन्दै हुनुहुन्छः

क्षति न्युनिकरण कार्ययोजना बनाई १५ दिनभित्र कार्यान्वयनमा ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौँ । डढेलो नियन्त्रण तथा जनधनको क्षति न्युनिकरण गर्ने सम्बन्धमा १५ दिन भित्र कार्ययोजना बनाई एकीकृत रुपमा कार्यान्वयनमा ल्याउन कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले डढेलो नियन्त्रणमा खटिने सुरक्षा सावधानी सहितको तालिमप्राप्त जनशक्ति र आवश्यक यन्त्र उपकरणको पर्याप्त व्यवस्था मिलाउन वन तथा वातावरण र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले वन जङ्गलमा डढेलो लगाउने जोकोहीलाई कडाभन्दा कडा कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

डढेलो नियन्त्रण गर्ने सम्बन्धमा आवश्यक सचेतनाका कार्यक्रमहरू गर्न र यसलाई थप प्रभावकारी बनाउन डढेलो सम्बन्धमा सचेतनामुलक रिङ्गिङ टोन बनाउन नेपाल टेलिकमलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

समितिले देशलाई प्लाष्टिक मुक्त बनाई वातावरण स्वच्छता कायम राख्ने सन्दर्भमा २०८२ को वैशाखदेखि काठमाडौँ उपत्यकाबाट सुरु गर्ने गरी आवश्यक तयारी गर्न बन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा बन तथा डढेलो सम्बन्धी विज्ञहरुले डढेलोको धेरैजसो घटना मानवीय कारणबाट हुने गरेको भन्दै सचेतना मुख्य आवश्यकता रहेको औँल्याउनुभयो ।

फागुन र चैत महिनामा धेरै डढेलो लाग्न सक्ने र यस वर्ष हिउँदमा वर्षा नभएका कारण डढेलोको जोखिम अझ बढेको भन्दै समयमा नै थप सतर्कता अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिनुभयो ।

नेपालमा हरेक वर्ष औसतमा डढेलोबाट ८ जना व्यक्तिको मृत्यु र ९१ घरमा क्षति हुने गरेको तथ्याङ्क छ ।

विज्ञहरुले डढेलो लागिहालेमा त्यसको नियन्त्रणका लागि आधिकारिक व्यवस्था, पर्याप्त स्रोत साधन र उपकरणहरू नभएकाले क्षति न्युनिकरणका लागि सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा बन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलो नियन्त्रणका सम्बन्धमा सम्बद्ध सरोकारवाला निकायहरूलाई सतर्क अवस्थामा राखिएको जानकारी गराउनुभयो ।

मन्त्री ठकुरीले डढेलो तथा आगलागी नियन्त्रणका लागि सबै सरोकारवाला निकायहरूबिच छलफल गरी रणनीति बनाएर अगाडी बढ्नु आवश्यक रहेको औँल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button