कोहलपुरमा यातायात कार्यालय स्थापना
बाँके ।लामो समयदेखि प्रतीक्षित यातायात व्यवस्था शाखा कार्यालयको कोहलपुरमा स्थापना भएको छ। लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बुधबार एक विशेष समारोहका बीच कार्यालयको उद्घाटन गर्नुभएको छ।
उद्घाटन समारोहमा मन्त्री न्यौपानेले सङ्घीयताको मर्मअनुसार प्रदेश सरकारले सेवा विस्तारमा विशेष जोड दिएको बताउनुभयो। उहाँले भन्नुभयो, “जहाँ आवश्यक पर्छ, त्यहाँ सेवा पुर्याउनु प्रदेश सरकारको दायित्व हो। अब भाडाको साँघुरो घरमा कार्यालय राखेर बस्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ। कोहलपुरमा यातायात कार्यालयको स्थापनाले यहाँका बासिन्दालाई नेपालगन्ज धाउनुपर्ने झन्झटबाट मुक्त गराएको छ।”
मन्त्री न्यौपानेले यातायात व्यवस्थामा प्रविधिको प्रयोग र सेवा विस्तारको महत्त्वमा पनि जोड दिनुभयो। उहाँले उच्चस्तरीय सिसीटिभी जडान गरेर नेपालगन्ज–कोहलपुर सडक खण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्न निर्देशन दिनुभयो। साथै, भौतिक पूर्वाधार र समन्वयमार्फत समृद्ध लुम्बिनी प्रदेश बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कार्यालय स्थापनाको लागि नागरिक, सरोकारवाला र राजनीतिक दलहरूको सहकार्यले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले भन्नुभयो, “कोहलपुरलाई केन्द्र बनाएर यस क्षेत्रको विकासका लागि थप कदम चाल्नेछौँ। यातायात कार्यालयको स्थापनाले कोहलपुरका नागरिकको दैनिकी सहज बनाउनेछ।”
लुम्बिनी प्रदेशसभा सदस्य बसन्ती अधिकारीले सहकार्य र अठोटको कारणले आजको उपलब्धि सम्भव भएको बताउँदै यो कार्यालयले बाँकेको समग्र विकासलाई टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। यस्तै, प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले कार्यालयका सेवाहरू प्रभावकारी बनाउन आफ्नो पहल जारी राख्ने बताउनुभयो।
नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालयको शाखा कोहलपुर नगरपालिका–११ स्थित पुरानो बसपार्कको भवनमा स्थापना गरिएको हो। कार्यालयले ब्लु बुक, लाइसेन्स नवीकरण, र पटके सेवा प्रदान गर्नेछ। कम्प्युटर अधिकृत सतिशजंग शाहका अनुसार हाल तीनजना कर्मचारीले सेवा सञ्चालन गर्दै छन्। भविष्यमा सेवाको चापअनुसार कर्मचारी सङ्ख्या वृद्धि गरिनेछ।
स्थानीय बासिन्दाहरू कार्यालय स्थापनाप्रति उत्साहित देखिएका छन्। स्थानीय बिश्वराज खनालले भन्नुभयो, “अब नेपालगन्ज जानुपर्ने बाध्यता अन्त्य भएको छ। सरकारको यो कदम स्वागतयोग्य छ।” अर्का स्थानीय टंक खनालले पुरानो बसपार्क क्षेत्रमा कार्यालय स्थापना भएपछि व्यापारिक गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
पुरानो बसपार्क क्षेत्रमा कार्यालय स्थापनापछि कोहलपुरमा आर्थिक चहलपहल बढ्ने अपेक्षा गरिएको छ। सर्वसाधारण र व्यापारीहरूले कोहलपुरमै यातायात सेवाहरू उपलब्ध भएपछि यस क्षेत्रको व्यापार र सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताएका छन्।
यातायात कार्यालयको स्थापना सङ्घीयताको मर्मअनुसार सेवा जनताको दैलोमा पुर्याउने प्रदेश सरकारको दृढताप्रति आधारित छ। कोहलपुर र बाँकेको समग्र विकासका लागि यो कदमलाई ऐतिहासिक मानिएको छ।
प्रतिक्रिया राख्नुहोस्