अमेरिकी विदेशमन्त्री रुबियोद्वारा एसियाली साझेदारसँग भेटवार्ता
वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ क्षेत्रका लागि एसियामा जापान, भारत र अस्ट्रेलियासँग मिलेर काम गर्ने बताउनुभएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहणको एक दिनपछि रुबियोले वासिङ्टनमा क्वाड समूहका आफ्ना समकक्षी मुलुकका कूटनीतिज्ञहरूसँगको भेटमा उक्त कुरा बताउनुभएको हो ।
रुबियो र उहाँका समकक्षीहरूले एक संयुक्त वक्तव्यमा ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ क्षेत्र बनाउनका लागि काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
वक्तव्यमा इन्डो–प्यासिफिक क्षेत्रमा चिनियाँ आक्रामकताप्रति सङ्केत गर्दै यसको विरुद्धमा सहयोगी मुलुकहरूबिच सहकार्य हुने उल्लेख गरिएको हो ।
चारै मुलुकका कूटनीतिज्ञले विधिको शासन, लोकतान्त्रिक मूल्यमान्यता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सुरक्षाका लागि सहकार्य गर्ने बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “बल प्रयोगद्वारा यथास्थितिलाई परिवर्तन गर्न खोज्ने कुनै पनि एकपक्षीय कार्यको पनि हामी कडा विरोध गर्दछौँ ।”
विदेश मन्त्रीहरूको भेटवार्तामा यस वर्ष भारतमा क्वाड शिखर सम्मेलन आयोजना गर्न काम गर्ने विषयमा पनि छलफल भएको थियो ।
यसको अर्थ ट्रम्पले बढ्दो अमेरिकी साझेदारको प्रारम्भिक भ्रमणका रूपमा उक्त सम्मेलनमा सहभागिता जनाउन भारत भ्रमण गर्ने सङ्केत गरिएको छ । क्वाड समूहलाई प्रायः वासिङ्टनमा चीनविरुद्धको सुरक्षा कवचको रूपमा हेरिन्छ ।
उक्त अवसरमा विदेशमन्त्री रुबियोले प्रत्येक देशका समकक्षी मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता पनि गर्नुभएको थियो ।
जापानी विदेशमन्त्री ताकेशी इवायासँग रुबियोले उत्तर कोरिया र चीनको गतिविधिबारे संयुक्त प्रयासका लागि गर्न सकिने पहलबारे छलफल गरेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी ब्रुसले बताउनुभयो ।
जापानका दिवङ्गत प्रधानमन्त्री शिन्जो आबेले क्वाडको परिकल्पना गर्नुभएको थियो ।
चीनले क्वाडलाई उदीयमान एसियाली शक्तिलाई घेर्ने अमेरिकी षडयन्त्र भएको भन्दै बारम्बार आलोचना गर्दै आएको छ ।
रासस/एएफपी
प्रतिक्रिया राख्नुहोस्