तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन  आवश्यक: नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेको सात बुँदे सहमतिको जगमा वनेको वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकको आर्थिक विकास र राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको प्रष्ट पार्नुभयो ।

सरकार गठन भएको ६ महिना भइसकेको र  जसरी सरकारले काम गर्नुपर्ने हो सो अनुसार काम हुन नसकेको बताउँदै जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गर्नुपर्ने उहाँले बताउनुभयो । वर्तमान सरकार प्रति जनताको आशा भरोसा  रहेको उहाँको भनाई थियो । ६ महिनामै संविधान  संशोधन, सुशासन तथा मुलुकको आर्थिक विकास सम्भव नहुने भएता तर  यस विषयमा  सरकारले कामको गतिलाई अगाडी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ,

नेपाली कांग्रेसका केन्द्रिय समेत रहनु भएका नेता कोइरालाले सात वुदें सहमति अनुसार संविधान संशोधन प्रक्रिया चाडै अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले संविधान  संशोधन नेपाली कांग्रेस र नेकपा एमालेले मात्र चाहेर नहुने भएकाले संविधान संशोधनका लागि सरकार बाहिर रहेका दलहरूलाई पनि मिलाएर लैजानुपर्ने  बताउनुभयो ।

 एक प्रश्नमा उहाँले लोकतान्त्रिक व्यवस्थामा  अध्यादेशबाट मुलुक चलाउन खोज्नु उपयुक्त नहुने प्रष्ट पार्नुभयो । अध्यादेशबाट देश चलाउन खोज्दा मुलुकमा निरङ्कुशता हाबी  हुने उहाँको भनाई थियो ।  लोकतान्त्रिक व्यवस्थामा संयन्त्र गठन गरेर देश चलाउने भन्दा  पनि  सरकारले देश चलाउनु पर्छ उहाँले भन्नुभयो  ।

 नेता कोइरालाले नेपाली कांग्रेसको १५ औँ  महाधिवेशन समयमा  हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका विधानमा  चार वर्ष भित्रका अधिवेशन गराउने प्रावधान  रहेकाले समयमा अधिवेशन हुन नसके  पार्टी कमजोर हुने उहाँको भनाई थियो ।

 एक अर्को प्रश्नमा उहाँले केही दिन अगाडी आफूले गरेको बेलायत  भ्रमण फलदायी भएको बताउनुभयो । भ्रमणको क्रममा आफूले बेलायतका केविनेट मन्त्री  तथा विभिन्न दलका  नेताहरू सँग भेटघाट गरेको र सो क्रममा नेपालमा  मौसम परिवर्तनले निम्त्याएको समस्या, ब्रिटिस गोर्खा सैनिकको समस्या, दुई देश बिच हवाई सेवा सुचारु गर्ने तथा नेपालको शान्ती प्रक्रियाको विषयमा गम्भीर छलफल गरेको र सो छलफल फलदायी भएको उहाँको भनाई थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button