तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्रलाई प्रहार गर्न चाहनेहरू कांग्रेस कमजोर बनाउन चाहन्छन् : उपप्रधानमन्त्री सिंह

बागलुङ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रलाई प्रहार गर्न चाहने तत्त्वहरू नेपाली काँग्रेसलाई कमजोर बनाउने प्रयासमा रहेको बताउनुभएको छ । 

मङ्गलवार नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताउनुभयो । विगतमा जनताको गुमेको अधिकार नेपाली काँग्रेसले पुनः स्थापित गरेको भन्दै अहिले प्राप्त अधिकारको रक्षाका लागि सुदृढ र एकताबद्ध कांग्रेस आवश्यक रहेकोमा उपप्रधानमन्त्री सिंहले जोड दिनुभयो । 

त्यस्तै, उहाँले अहिले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको पनि प्रष्ट पार्नुभयो । सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको भन्दै उहाँले सहमति अनुसार नै कांग्रेस/एमालेबिच सत्ता सहयात्रा अघि बढ्ने दाबी गर्नुभयो । गत चुनावपछि बनेका सरकारहरू लामो समय टिकेनन् । स्थिर सरकार बनोस् भन्ने जनचाहनाअनुरूप नै वर्तमान सरकार बनेको हो,झ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले भन्नुभयो, ७ बुँदे सहमतिअनुसार सरकार अघि बढ्छ । सहमतिअनुसार नै कांग्रेस सभापति ‌शेरबहादुर देउवाको  नेतृत्वमा चुनाव हुन्छ ।

उहाँले कांग्रेसको स्वभाव सबैलाई मिलाएर अघि बढ्ने रहेको भन्दै पार्टीभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहनेले मिलाएर अघि बढ्नुपर्ने बताउनुभयो । बाग्लुङमा रहँदा सिंहले बुधबार बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा सभामा सहभागी हुनुहुनेछ भने शहरी विकास मन्त्रालयअन्तर्गतका योजनाहरूको पनि निरीक्षण गर्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button