किसानहरूको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार किसानहरूको साथमा रहेको बताउनु भएको छ । गढवामा बाख्राको पहिलो पुस्ता उपहार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किसानहरुउनीहरूको जीवनस्तर सुधार्नका प्रदेश सरकारले प्राथमिकतामा राखेर उत्पादन बढाउन र बजारीकरणमा साझेदारी गरिरहेको बताउनु भएको हो । ‘प्रदेश सरकार किसानहरूको साथमा छ ,उत्पादनमा जोडिन जरुरी छ । यसमा प्रदेश सरकारले साझेदारी कार्यक्रम बनाउँछ। ‘ उहाँले भन्नुभयो ‘मेहनत गर्ने किसानको पक्षमा सरकार छ ,ढुक्क भएर उत्पादनमा लाग्नुस् ।’

गढवा गाउँपालिकाले गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना सञ्चालन गरेको छ । यही परियोजना अन्तर्गत १०३ किसानले बाख्राको पहिलो पुस्ता उपहार गरेका हुन । प्रदेश सरकारले आगामी वर्ष धेरै पालिकासँग साझेदारी गरेर किसानहरूको जीवनस्तर उकास्न कार्यक्रम अघि बढाउने बताउनुभयो । उद्यमी महिलाहरूलाई पनि उत्पादन प्रक्रियामा समावेश गराई आत्मनिर्भर बनाउन सरकारले विशेष प्रयास गरिरहेको उहाँले उल्लेख गर्नुभयो।
उत्पादन भएका कृषिजन्य उपजको बजारीकरण गर्न सङ्कलन केन्द्रहरू उपयोगी हुने र आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रमहरू महत्वपूर्ण रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ। उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, ‘भोकालाई एक छाक भोजन हैन, जिउने जुक्ति सिकाउनुपर्छ । यो महान् उद्देश्यलाई पूरा गर्न सबैले ध्यान दिनुपर्ने छ ।’
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शारदाकुमारी चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारी, हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्य लगायतले सम्बोधन गर्दै किसानहरूलाई आत्मनिर्भर बनाउन र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्