हुलाकी राजमार्गको द्रुत निर्माण सरकारको प्राथमिकतामा: मन्त्री दाहाल
नेपालगञ्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हुलाकी राजमार्गको द्रुत निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत बाँके र बर्दिया जोड्ने बाँकेको खजुरामा रहेको ५२ वर्ष पुरानो जीर्ण पेडारी नालाको पुलको अवलोकन गर्दै मन्त्री दाहालले द्रुत गतिमा निर्माण सम्पन्न गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । ठाउँ-ठाउँमा सडक र पुल निर्माण गर्न अझै बाँकी रहेको भन्दै उहाँले त्यसमा सरकार गम्भीरताका साथ लागिरहेको बताउनुभयो । मन्त्री दाहालले पेडारीको जीर्ण पुल छिट्टै बन्ने आश्वासन दिनुभयो ।
अघिल्लो हप्ता मात्र अर्थ मन्त्रालयबाट हुलाकी सडकमा रहेका पुल निर्माणका लागि बजेटको व्यवस्था भएपछि भने स्थानीयले पुल बन्ने अपेक्षा गरेका छन् । अवलोकनका क्रममा मन्त्री दाहाललाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले पेडारी नालाको पुललाई छुट्टै शीर्षक दिएर बजेटको सुनिश्चितता प्रदान गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्